असार ३ । पछिल्ला केहि वर्ष यता नेपालमा देखिएको तथा खासगरी सन् २०१० मा माहामारीकै रुपमा फैलिएको डेंगु रोग भारतबाट नेपालमा भित्रिएको कुरा श्याम प्रकाश डुम्रेको जिनेटिक अध्ययनले देखाएको छ ।
थाइल्याण्डस्थित थामासात विश्वविद्यालयबाट विद्यावारिधि ‘पीएचडी ’उपाधि हासील गरेका डुम्रेका अनुसार यो रोग नियन्त्रण तथा रोकथाम कार्यका लागि महत्वपूर्ण छ । यसका अतिरिक्त छोटो समयमै विश्वसनीय तरिकाले रगतमार्फत डेंगु पहिचान गर्न सकिने नयाँ प्रविधि पनि उनले पत्ता लगाएका हुन् । जुन कम खर्चिलो र सजिलो प्रविधि भएकाले नेपालजस्तो मूलूकमा अति उपयोगि हुने उनको विश्वास छ ।
डुम्रेले अलाइड हेल्थ साइन्स सङ्कायतर्फ वायोमेडिकल साइन्सेस विषयमा सो उपाधि हासिल गरेका हुन् । “मोलिकुलर क्यारेक्टराईजेसन अफ डेंगु भाईरस फ्रम नेपाल एण्ड डेभलपमेन्ट अफ डेंगु रिकम्बीन्याण्ट प्रोटिन विद डाइगोनोस्टिक पोटेन्सीयल” विषयमा गरेको सोधकार्यका लागि उनलाई सो उपाधि प्रदान गरिएको हो । नेपालमा डेंगु भाइरसको जिनेटिक तहको अध्ययन यो नै पहिलो भएको उनको दाबी छ ।
उनले विश्व स्वास्थ्य संगठन (-WHO–TDR) को छात्रबृत्ति प्रतिस्पर्धामा विद्यावारिधि सोधकार्यका लागि लिडरसीप ट्रेनिङ ग्राण्ट प्राप्त गरी थाइल्याण्डको उक्त विश्वविद्यालयमा अध्ययन पूरा गरेका हुन् । छात्रबृत्तिमा विद्यावारिधि अध्ययनका लागि विश्वका विभिन्न देशका ७ जनामध्ये नेपालबाट उनी छनौट भएका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञानसम्बन्धि जर्नलहरुमा हालसम्म उनका करिब दुई दर्जन सोधकार्यहरु प्रकाशित भएका छन् । अमेरिकाको प्रतिष्ठित जर्नलमा समेत प्रकाशित भएको उहाँको यस पीएचडी– सोधकार्य विभिन्न अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलनहरुमा प्रस्तुत भैसकेको छ ।
थुमपोखरा–८, स्याङ्जा स्थायी निवासी डुम्रेले वालिङस्थित सरकारी विद्यालयबाट २०५३ सालमा विशिष्ट श्रेणीमा प्रवेशीका तह उत्र्तीर्ण गरेपश्चात काठमाडौ स्थित अमृत साइन्स क्याम्पसबाट आईएससी तथा त्रिचन्द्र क्याम्पसबाट बीएस्सी अध्ययन पूरा गरेका थिए । - स्रोत: ऐक्यवद्धता मासिक