सेलिब्रेटी सौन्दर्यः सुन्दरताका लागि हल्का रङ हल्कै खाना
गर्मी यामको शुरूआतसँगै सुन्दरतालाई कसरी बचाउने भन्ने चिन्ता पनि बढेर गएको छ । आफ्नो सुन्दरताले अरूलाई मोहित तुल्याइरहनुपर्ने कलाकारहरू भने यस्तो बेलामा आफ्नो सुन्दरता र सौन्दर्यलाई बचाइराख्न हल्का रङको कपडा प्रयोग गरे सजिलो हुने बताउँछन् । जाडो यामको तुलनामा गर्मी याममा धेरै कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । यो याममा कुनै विशेष गाढा रङभन्दा पनि प्रायः सबै गाढा रङको प्रयोग सौन्दर्यका लागि हानिकारक हुने कलाकारहरूको ठम्याइ छ ।
जति उमेर बढे पनि सधैं निखारिएको सौन्दर्यमा देखिने नायिका करिश्मा मानन्धर भन्छिन्– ‘गर्मी मौसममा त हल्का रङको कपडा प्रयोग गर्नु उचित हुन्छ । कटनका हल्का सेट्स र लाइट कलरका कपडा लगाउँदा स्किनलाई घामको असरबाट जोगाउन सकिन्छ ।’ यो मौसममा आफ्नो सुन्दरतालाई बचाइराख्नका लागि खानपिनमा पनि ध्यान पुर्याउनुपर्ने करिश्माको सुझाव छ । ‘पानी प्रशस्त मात्रामा पिउने, जुस र फलफूलको सेवनले स्वास्थ्य र सुन्दरता दुवैलाई फाइदा पुर्याउँछ’, करिश्माले आफ्नो सौन्दर्यको राज खोलिन्– ‘बाहिर निस्कँदा सन ब्लक युज गर्दा राम्रो हुन्छ भने अनुहार सेफ गर्नका लागि चस्मा लगाउने र फेस क्लिन गरे सुन्दरता बिगँरदैन ।’
अर्की पुरानी नायिका तथा निर्मात्री मौसमी मल्ल पनि हल्का रंगको कटनमा लुज कपडा प्रयोग गर्नु उचित हुने सुझाउँछिन् । ‘हावामा विभिन्न डस्ट हुने र घाम सिधै गालामा पर्ने भएकाले सकेसम्म बाहुलावाला कटनको कपडा प्रयोग गर्दा राम्रो हुन्छ । कडा रङभन्दा पनि सेतो, हल्का गुलाबी, स्काई ब्लुजस्ता कलरको कपडा राम्रो हुन्छ’ –मौसमीले भनिन् । फ्रिजमा राखिएको धेरै चिसो पेय पदार्थले पनि सुन्दरतामा असर पर्ने उनको अनुभव रहेछ । ‘कोल्ड ड्रिंक्स कम गर्ने तर पानी प्रशस्त पिउने, हल्का प्रकारका कम मसला भएको शुद्ध खाना खाने । सकेसम्म बाहिर वा होटलको खाना नखाने र चिल्लो कम खाने । यसो गर्नाले स्वास्थ्य र सुन्दरता दुवैलाई राम्रो गर्छ’ –उनले भनिन्् । सुन्दरता बचाउनका लागि घाममा हिँड्दा सन ब्लकको प्रयोग गर्ने, बिहानै उठेर मुख धुने र दैनिक रूपमा नुहाउने गर्नाले पनि सुन्दरता बचाउन मद्दत पुग्ने उनको अनुभव छ । ‘डेली नुहाउने, दिनमा कम्तीमा ३ पटक मुख धुने, पसिना रोक्न पाउडरको युज गर्ने र मेकअप उतारेपछि पनि मुख धुने गर्यो भने सधैं ब्युटी रहन सहयोग पुग्छ’ –मौसमी सुझाउँछिन् । नव नायक विमलेश अधिकारी भने आफूलाई सहज हुने कपडाको प्रयोग गर्दा राम्रो हुने बताउँछन् । ‘आफूलाई कम्फरटेबल हुने कपडा लगाउँदा राम्रो हुन्छ । तर सकेसम्म समर सिजनमा नपोल्ने खालका र ह्वाइट कलरलाई प्राथमिकतामा राख्नुपर्छ’, फिल्ममा उदाउँदै गरेका र म्युजिक भिडियोमा जमिरहेका विमलेश भन्छन्– ‘फर्मल र क्याजुअल दुवैमा लाइट कलरलाई बढी फोकस गर्नुपर्छ ।’ खानपान गर्दा भने उनी जंक फुड नखान सल्लाह दिन्छन् । ‘ओल्ड स्टक र जंकफुड त खानै हुँदैन’, विमलेशको सुझाव छ– ‘लन्च र डिनरबाहेक सम्भव भएसम्म स्न्याक्सको समयमा फ्रुटमा जोड दिनुपर्छ । खर्बुजा, टमाटर जस्ता खानेकुराले पनि सुन्दरतालाई बचाउन मद्दत गर्छ ।’ उनका लागि सुन्दरतालाई बचाउने अर्को उपाय भनेको स्किनमा आइस राख्नु हो । ‘स्काफमा आइस राखेर केही बेर स्किनमा राख्दा यसले गालालाई फ्रेस राख्छ’ –उनले आफ्नो अनुभव बाँडे ।
नायिका श्वेता खड्का पनि सौन्दर्य बचाउका लागि हल्का रङको कपडा प्रयोग गर्दा राम्रो हुने बताउँछिन् । ‘विशेष गरी कटनका लाइट कलरका कपडा युज गर्नु राम्रो हुन्छ’, इन्टेरियर डिजाइनर समेत रहेकी यी सुन्दरी भन्छिन्– ‘ह्वाइट कलर र नपोल्ने खालका कपडाको युज गर्नु राम्रो हुन्छ ।’ गर्मीमा बढी पसिना आउने भएकाले प्रशस्त मात्रामा पानी पिउने, झोलिलो खानेकुरा बढी खाने, जुसलगायतका पदार्थमा बढी ध्यान दिने गर्नु आवश्यक छ । घामबाट बच्नका लागि सन ब्लक क्रिमको प्रयोग गर्न उनी सुझाउने उनी गर्मी मौसममा पानी पनि पर्ने भएकाले वाटर प्रुफ क्रिमको प्रयोग गर्नु राम्रो हुने बताउँछिन् ।
नायक निरज बराल पनि गर्मी मौसममा कालो रङको कपडा नलगाउँदा राम्रो हुने बताउँछन् । ‘कालो रङको कपडा युज नगर्ने र कुल कलरका क्याजुअल ड्रेसको बढी युज गर्नु राम्रो हुन्छ’ –निरजले भने । सुन्दरताको बचाउका लागि खानामा पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ– ‘मासु र हेभी खानामा जोड नदिँदा नै राम्रो हुन्छ । यो मौसममा लाइट खाना खानुपर्छ अनि म्याक्सिमम पानी पिउनुपर्छ ।’ यो सिजनमा हावा बढी चल्ने भएकाले फेसवास र आफूलाई सुट गर्ने क्रिमको प्रयोग गर्दा राम्रो हुने उनको भनाइ छ । ‘आफूलाई सुट गर्ने फेसवास र क्रिमको प्रयोग गर्नुपर्छ । बाहिर घाममा हिँड्दा भने आफ्नो ब्रान्डअनुसारको क्रिम र सन ग्लासको प्रयोग गर्नु राम्रो हुन्छ’ –निरजको सल्लाह छ ।
हास्य अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली) पनि सुन्दरता बचाउनका लागि हल्का रङको कपडामै जोड दिन्छिन् । ‘सुन्दरता बचाइराख्न डार्कभन्दा लाइट कलर नै बढी उपयुक्त हुन्छ’, कुञ्जना सुझाव दिन्छिन्– ‘प्रशस्त मात्रामा पानी पिउने हेभी खानाको साटो लाइट खाना खाने, सलाद, जुस र कोल्ड ड्रिंक्समा जोड दिने, हरेक बिहान नुहाएर फ्रेस हुने गर्यो भने स्वास्थ्य र सुन्दरता दुवैको बचाउ हुन्छ ।’
प्रकाशित मिति:
August 20, 2013