७० पूर्वलडाकु सेनाका अधिकृत बन्दै

अधिकृत तहको भर्ना, छनोट उत्तीर्ण ७१ मध्ये ७० जनाले आधारभूत तालिम पूरा गरेका छन । एक जनाले भने स्वास्थ्यका कारण बीचमै छाडेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माका अनुसार सोमबार दज्र्यानी चिह्न लगाएपछि सबैलाई तीन महिनाको ब्रिजिङ कोर्समा सहभागी गराइनेछ । विभिन्न तालिमपछि क्रमशः माथिल्लो पद दिइनेछ ।
लडाकु समायोजनसम्बन्धी विशेष समितिले पूर्वलडाकुमध्ये बाट एक जनालाई कर्णेल (महासेनानी) दुई जनालाई लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी), १३ जनालाई मेजर (सेनानी) ३० जनालाई क्याप्टेन (सहसेनानी) पद दिने निर्णय भएको छ । बाँकी उपसेनानी हुनेछन् ।
एमाओवादीले यामबहादुर अधिकारीलाई कर्णेल र लेफ्टिनेन्ट कर्णेल वासुदेव घिमिरे र पदम लामालाई दिने निर्णय गरिसकेको छ । वरिष्ठता, सेवा अवधि, शिक्षालगायत आधारमा अन्य पद वितरण गरिने सेनाले जनाएको आजको कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति:
August 22, 2013