कुन डन कुन ठाउँका लागि लड्न खोज्दैछन् ?
भदौ १६ । संविधानसभा निर्वाचनको माहोलले नेता मात्र होइन,डनहरुलाई समेत छोएको छ । पहिले नेताहरुको पछि लागेर निर्वाचन जिताउन खटिने गरेका डन अहिले आफै निर्वाचन लडन टिकटका लागि दौडधुपमा रहेका छन ।
सुरक्षित हुनका लागि विभिन्न राजनीतिक पार्टीमा लागेका डनहरु अहिले टिकटको लबिङमा लागेका छन् । कोही प्रत्यक्षबाटै चुनाव लड्ने तयारीमा छन् भने कोही समानुपातीकतर्फबाट नाम सिफारिस गराउने लबिङमा छन् ।
चुनाव लड्ने तयारीमा जुटेकामध्ये धेरै कांग्रेसनिकट डन छन् । रोज राणा, तीर्थ लामा, पूर्ण गुरुङ, मीनकृष्ण महर्जनलगायत नाम चलेका डनहरु प्रत्यक्षतर्फको उम्मेदवारका लागि टिकटको लबिङमा छन् । टिकटका लागि राणा एक सातादेखि गृह जिल्ला प्युठानमा सक्रिय भएका छन् ।
प्युठानको क्षेत्र नप्बर २ बाट उनले चुनाव लड्न खोजेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।
‘नेताहरुले चुनाव लड्नुपर्छ भन्नुभएको छ ,’रोजले टेलिफोनमा भने,‘मेरो पक्षमा यहाँ माहोल पनि राम्रो बनेको छ । ’चलचित्र क्षेत्रमासमेत आबद्ध उनी जेलबाट छुटेपछि तरुण दलको राजनीतिमा सक्रिय हुँदै आएका छन् । उनी कांग्रेस सभापति सुशिल कोइरालासँग निकट छन् ।
शेरबहादुर देउवा निकट मानिने पूर्ण गुरुङ पनि तनहुँबाट चुनाव लड्ने तयारीमा छन् । तर,उनको क्षेत्रबाट रामचन्द्र पौडेलसमेत उम्मेदवार हुने भएकाले उनी युवा नेताले टिकट पाउनुपर्ने भन्दै देउवा पक्षका नेताहरुकोमा धाउँदै आएका छन् ।
कांग्रेसको महासमिति सदस्यसमेत रहेका उनी आफ्नो क्षेत्रबाट नभए तनहुँकै ३ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ टिकट दिनुपर्ने बताउँदै आएका छन् । सुन्धारा क्षेत्रको डनकारुपमा चिनिने उनी बिभिन्न अपराधमा पटक–पटक थुनामा परि छुटेका व्यक्ति हुन् ।
ललितपुरको डनकारुपमा चिनिने मीनकृष्ण महर्जन पनि ललितपुरको क्षेत्र नम्बर १ बाट टिकट लिने लबिङमा छन् । विवादास्पद छबि भएका महर्जन कांग्रेस नेताहरु शंकर भण्डारी र खुमबहादुर खड्काका विश्वासप्राप्त मानिन्छन् ।
पहिले काभ्रेली समूहमा रहेका तिर्थ लामाले काभ्रेको क्षेत्र नं. १ बाट आफूले टिकट पाउने दाबी गर्दै आएका छन् । क्षेत्र नम्बर १ का क्षेत्रिय सभापतिसमेत रहेका उनी पहिला डन गणेश लामाका निकट थिए ।
कांग्रेस निकट कुमार घैँटे भने सक्रिय राजनीतिमा छन् । कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, जगदिशनरसिंह केसी, रामशरण महतलगायतसँग उनको राम्रो सम्बन्ध भएकाले पहिलेजस्तै उनीहरुकै चुनावका लागि खटिने तयारीमा छन् ।
एमाले निकट डनहरु भने यसपटक चुनाव लड्नेभन्दा आफुनिकट नेताहरुलाई जिताउने अभियानमा लागेका छन् । दिनेश अधिकारी ‘चरी’, रमेश बाहुन, साजन महर्जनलगायत चुनाव नै लड्ने तयारीमा छैनन् । उनीहरु आफुलाई सहयोग गर्ने नेतालाई जिताउने तयारीमा छन् ।
एमालेनिकट अर्का डन मिलन चक्रे जेलमा छन् । धादिङको क्षेत्रिय उपाध्यक्षसमेत रहेका चरीले आफू चुनाव लड्ने मनस्थितीमा नरहेको बताए । आफ्नो क्षेत्रमा सिनीएर व्यक्तिहरु भएकाले यसपटक त्याग गरेको उनको भनाइ छ ।
अर्का ठूला डन दीपक मनाङेले राष्ट्रिय समाजवादी पार्टीबाट समानुपातिकमा चुनाव लड्न चाहेको आजको नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति:
September 01, 2013