निर्वाचनको गोर्खेलौरीमा एमाओवादी -लेखनाथ न्यौपाने
मंसीर चारको निर्वाचनपछि अन्ततः एमाओवादी टाढाको तेस्रो (दोस्रो ठूलो पार्टी एमाले भन्दा ६५ सिट पछाडि) संसदीय पार्टी बनेको छ । यो परिणाम स्वीकार्न उसलाई निकै सकस भएको छ । त्यसैले त उसले “धाँधली भयो, व्यालेट बक्स रातारात साटियो, विदेशीको डिजाइनमा हामीलाई हराइयो, हामी संविधानसभामा जादैनौं” जस्ता असंगत विषय सार्वजनिक गरिरहेको छ । जुन विषय ‘अभुतपूर्व जनताको सहभागितामा भब्य र ऐतिहासिक ढंगबाट संविधानसभा निर्वाचन–०७० सम्पन्न भयो’ भन्ने अर्थको चार गते ५ बजे निकालिएको प्रचण्ड वक्तव्यसँग अलिकति पनि मेल खादैन । अघिल्लो संविधानसभालाई आधा रातमा आफैले हत्या गर्नु, पछिल्लो संविधानसभा निर्वाचनसँग विषयगत र विधिगत असहमत ठूलो हिस्सालाई सहमति र चुनावमा आउनै नदिनु, अन्तरिम संविधान संसोधन (बाधा अड्काउ फुकाउ आदेशका भरमा) गर्दै गैरदलीय सरकार बनाउनु, नेकपा–माओवादी लगायत चुनाव बहिस्कार गर्ने पक्षलाई दमन गर्न र इतिहासमै पहिलो पटक निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्नु लगायतका सबै प्रकृयाको नेतृत्व गर्दा समेत निर्वाचन आफ्नो पक्षमा नआउँदा ऊ असैह्य पीडामा छट्पटाइरहेको सजिलै बुझ्न सकिन्छ । उसका विचारहिन, दिशाहिन र ठेगानहिन क्रियाकलाप र अभिव्यक्तिका स्रोतहरु यी विषय हुन् सक्छन् ।
पार्टी विभाजनको विपद्ः
चुनवाङ वैठक (०६२) यता नेकपा (माओवादी) भित्र तीब्र अन्तरसंघर्ष चल्दै आएको थियो तर पार्टी नेतृत्व (प्रचण्ड–बाबुराम) ले वहसका विषयलाई पुरै बेवास्था गर्दै अगाडि (बास्तवमा पछाडि हटाइ थियो) बढ्दै गयो । शक्ति आशक्तिको कारण जनयुद्धको अन्त्य, सेनाको विघटन र संसदीय राजनीतिक प्रणालीमा प्रवेश ग¥यो तर यी गम्भीर प्रकृतिका विषयहरु पार्टीमा औपचारिक रुपमा न कहिल्यै प्रस्ताव गरियो न त छलफल र निर्णय नै भयो । तर फेरि पनि एकलौटी रुपमा कार्यन्वयन गर्दै लगियो । यसैको उत्कर्ष संविधानसभा निर्वाचन–०६४ थियो । त्यस निर्वाचनमा पार्टीले प्रत्यक्ष तर्फ बहुमत (१२१÷२४०) र समानुपातिक तर्फ ३१ लाख ४४ हजार २०४ अर्थात २९.२८ प्रतिशत मत प्राप्त गरेर सबभन्दा ठूलो दल बनेको थियो । निर्वाचन लगतै खरीपाटी बैठक आयोजना भयो जहाँ प्रचण्ड अल्पमत (१७÷३५) मा परे । पार्टीको त्यही बहुमत हिस्सा, ९३ जना (झण्डै ४१ प्रतिशत) संविधानसभा सदस्यले एमाओवादीसँग सम्बन्ध विच्छेद गरेर माओवादी आन्दोलनलाई पुर्नंगठन गरे । आज नेकपा–माओवादी सबै जिल्ला र गाउँमा गतिशील छ । यो माओवादी मंसीर ४ को निर्वाचनको विषय र प्रकृयासँग असहमत हुँदै सशक्त बहिस्कार आन्दोलनमा उत्रियो तर एमाओवादीले पार्टी फूटलाई नजरअन्दाज गर्दै सत्ताको उन्मादमा साम, दाम, दण्ड, भेदसहित दमनकारी नीति लियो । यस अर्थमा एमाओवादीको यो हविगत हुनुको मुख्य कारण पार्टी विभाजन थियो । गैर माओवादीको हुलः अघिल्लो संविधानसभा निर्वाचन लगत्तै माओवादी एमाओवादी बन्यो । एमाओवादी नामाकरणको सुरुवात नारायणकाजी नेतृत्वको एकता केन्द्र–मसालसँगको एकताबाट भयो भने अन्तरबस्तुमा गिरावटको उत्कर्ष समानुपातिकको बन्द सूची बुझाउने दिन पार्टी भित्र्याइएका लार्केल लामा बने । एकता केन्द्र–मसालसँगको एकताले पार्टी संगठनभित्र यति ठूलो असन्तुलन र अस्तव्यस्तता जन्मायो कि पुरानो पंक्तिको पुरै हुर्मत लिइयो । त्यसपछि लगातार नवप्रवेशीहरुको बोलवाला चल्यो जसको न जनाधार थियो न त नैतिकता नै । यिनै बहुरुपीहरुको मतमा प्रचण्डले बहुमतको डण्डा चलाउँदै चल्न थाले । चौटा खान आएका नयाँ माओवादीहरु मूल्य, मान्यता र नैतिकता कायम गर्न भन्दा पद, पैसा र सुविधा लुट्नेतिर निरन्तर लागे । यस्तालाई नियन्त्रण गर्नुको सट्टा वदमासीको वैधानिकता प्राप्त गर्ने भ¥याङ बनाए प्रचण्डले । ५२ साल अघि माओवादी रहेकाहरु मर्ने डरले युद्धकालमा एमाले र अन्य दलमा पसे र छाला जोगाए । जब शान्ति प्रकृया शरुवात भयो र ६४ पछि माओवादी सबभन्दा ठूलो दल बन्यो तब पुनः माओवादी बन्नेहरुको लर्को नै लाग्यो । यही प्रवृत्तिका उदाहरण हुन् मुक्ति खनाल, उर्मिला अर्याल र ऋषिराम शर्माहरु । चुनावको मुखैमा यस्ता मान्छेहरुलाई माओवादी बनाइयो जो दोहोरो नागरिकता र राहदानीको विवादमा तानिएका, हुँदाको पार्टीमा माथिल्लो पद नपाएर बिच्किएका र लामो जीवन वुर्जुवा वर्गको सेवा र माओवादीलाई दमन गरेकाहरु थिए जसलाई एमाओवादीले सभासदको उम्मेदवार नै बनायो । यस्तो प्रवृत्तिका प्रतिनिधि पात्रहरु लार्केल लामा, रामचन्द्र झा र बाबुराजा ओझाहरु हुन् । माओवादीमा यस्ता मान्छेहरु हुल्दा एकातिर पार्टीभित्रका इमान्दार कार्यकर्ताको नैतिक बल गि¥यो भने अर्कोतिर आम मतदाताले एमाओवादीलाई पिठ्युँ फर्काइदिए ।
भ्रष्टाचारको भुमरीः
श्रमिक, किसान–मजदुरहरुको नेतृत्व गर्ने माओवादी आन्दोलन जसको आह्वानमा हजारौं जनताका छोराछोरीले ज्यान फालेका थिए, ऊ भित्र संस्थागत भ्रष्टाचार मौलाउनु विघटनको उत्कर्ष हो । माओवादीभित्र यतिसम्म भ्रष्टाचार मौलायो कि सहिदको रगतले रंगिएको पार्टी झण्डा बनाउँदा समेत कमिसन र भ्रष्टाचार हुने ग¥यो । कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचारको विषयलाई लिएर बैंठकमा कुर्सी हानाहान हुनु, छानविनको लागि समिति (बास्तवमा छानविन होइन, आक्रोशलाई थामथुम पार्न) बनाउन बाध्य हुनु, रक्त चन्दन र यार्सागुम्बाको तस्करीमा केन्द्रीय नेता स्वयं लाग्नु कुन माक्र्सवाद र माओवादभित्र पर्छ कुन्नी ? जनता तीन छक परेका थिए । पिएलएभित्रको कानूनी भ्रष्टाचार (३ अरब), पोखरा विमानस्थलबाट लिएको घुस (२ करोड), दोलखामा सहिद प्रतिष्ठानको जमिन बेचेर खाएको घटना र सिन्धुलीमा सहिद स्मारक बनाउँदा भएको भ्रष्टाचार उदाहरण मात्र हुन् । घर–घडेरी, सुन–शेयर, गाडी–डोजर र बैंक–इन्सोरेन्स गनि साध्य छैन, पर्खनु पर्छ खुल्दै जान्छ । नदेखिएका र छरिएका भ्रष्टाचार त कति हो कति ? चार महिना खान नपुग्ने मान्छे माओवादी बने लगत्तै २२० सिसिको पल्सर आतङ्क चलाएको सामान्य जमिनको जनताले देखेकै विषय भयो । काँग्रेस–एमालेले १५ वर्षमा गरेको भ्रष्टाचार र भित्र्याएको विकृतिलाई एमाओवादीले चार बर्षमै उछिन्यो र बदनामको चुलीमा पुग्यो । निश्चित हो कि यसको प्रत्यक्ष असर निर्वाचनमा देखाप¥यो र एमाओवादी मरिच झैं खुम्चियो ।
राष्ट्रघातको रफ्तारः
काँग्रेसले कोशी गण्डकीमा राष्ट्रघात ग¥यो, एमालेले महाकालीमा राष्ट्रघात ग¥यो भनेर सुरुङ युद्धदेखि सिमा निरिक्षण गर्दै राष्ट्रियताको आन्दोलन संचालन गरेको एमाओवादी सत्तामा पुगेपछि राष्ट्रघातमा समेत नयाँ रेकर्ड कायम ग¥यो । ४० सुत्रीय मागपत्रलाई जनयुद्धको गर्भ भनिन्छ, जहाँ ८ ओटा माग राष्ट्रियतासँग सम्वन्धित छन् । यिनै मागहरु लेख्ने र सरकारलाई बुझाउने बाबुराम भट्टराई आफू सरकारको नेतृत्वमा पुगेपछि ‘ती त आन्दोलनका लागि उठाइएका भावपरक माग मात्र थिए, पुरा हुने बस्तुगत माग हुँदै होइनन्’ भनेर राष्ट्रघात बोले । विप्पा सम्झौता, एयरपोर्टको व्यवस्थापन भारतीय कम्पनीलाई दिने सम्झौता, सुपुर्दगी सन्धी, एयर मार्सल, उच्च कोशी बाँध लगायत जलस्रोत सम्बन्धि कैयौं सम्झौताहरु हुँदै हाम्रो ६४ स्थानको सिमा अतिक्रमणलाई जनमत संग्रहबाट टुङ्ग्याउने जस्ता उडन्ते कुरामा लगेर टुङ्ग्याउने सपना देखे । यसभन्दा अघि प्रचण्डले ‘मेरो राजनीतिक भ्रमण भारतबाटै शुरु हुन्छ, चीनको भ्रमण त खेलकुद हो’ भनेर चाकरी बोलेका थिए भने बाबुराम सरकारले त राष्ट्रियताको जहाजै डुबाइदिए । जनयुद्धकालको लगभग पुरै समय भारतमा बिताएका प्रचण्ड–बाबुरामले राष्ट्रघाती काम के के गरे भन्ने विषय त एसडि मुन्नी र सुधीर शर्माको ‘प्रयोगशाला’ नामका पुस्तक पढेपछि जोसुकैले पनि जिब्रो टोक्ने अवस्था सिर्जना हुन्छ । राष्ट्रियता सम्बन्धि यस्ता विषयहरु देशभक्त जनताले सहन सक्ने कुरै भएन । यसकारण पनि एमाओवादी जनताको नजरमा निकै अलोकप्रिय बन्यो
।
परिवारवादको फन्दाः
राजनीतिभित्रको सामन्तवाद परिवारवादमा अभिव्यक्त हुने गर्छ । पुराना संसदीय पार्टीहरु परिवारवादको घेरामा बन्दी भएको विषय मतदातालाई अचम्म लागेको होइन तर आभारभूत जनताको नेतृत्व गर्ने माओवादी त्यो भन्दा बढी परिवारवादमा फसेको देख्दा जनता थप वाक्कदिक्क भएका पक्कै हुन । युद्धकालमा जनताका छोराछोरीलाई पूर्णकालीन बनाएर लडाइँमा पठाउने नेताहरु आफ्नो परिवारलाई संगठित गर्न नचाहने, संगठित गरे पनि कम जोखिमपूर्ण काममा कार्यविभाजन गरे । पूर्णकालीन बनेका आफ्ना छोराछोरीलाई कार्यालय, सचिवालय र आफ्नै सुरक्षा गार्ड वा पिए बनाउने कार्यको आलोचना त्यतिबेला पनि नभएको होइन । युद्धकालको परिवारवादलाई जनताले त्यति मतलब गरेनन् तर यो प्रवृत्ति संविधानसभा–६४ पछि झन झाङ्गियो । प्रधानमन्त्री, मन्त्री र सभासदहरु प्राय सबैले आफन्तहरुलाई सचिवालय र सचिवमा नियुक्त गरे । पूर्णकालीन बनेका र योग्यता पनि भएका जनताका छोराछोरीलाई यो प्रकृतिको जिम्मेवारी वरिपरि नै ल्याइएन । श्रीमति र छोरीहरुलाई सभासद बनाउन ज्यान फालेर लड्ने नेतृत्व, श्रीमान र श्रीमति पालैपालो मन्त्री बन्नका लागि हानथाप गर्ने नेताहरुको सामन्ती चाल जनताले देखेकै थिए । यो मंसीर चारको निर्वाचनमा पनि परिवारवाद सतहमै देखियो । यतिसम्म कि माओवादीभित्र कोही महिला नभए झैं गरी कानूनी, साँस्कृतिक र नैतिक रुपले बदनाम, राजनीतिक घरानाभित्र भित्रिएकी महिलालाई निर्वाचनमा टिकट नै दिइयो । यो निर्णयले माओवादी महिलालाई मात्र हेपेको थिएन कि पुरै जनता र मतदातालाई समेत हेपिएको विषय थियो । माओवादीबाट हेपिएका मतदाताहरुले आफ्नो निर्णय गरे र एमाओवादीको सेखी झारिदिए । अभिजात वर्गीय जीवनशैलीः भियतनामका कम्युनिस्ट नेता होचि मिन्हले खाइको जाङ्गे लगाएर विश्वभ्रमण गरेका थिए । क्यूवाका कम्युनिस्ट राष्ट्रपति फिडेल क्यास्त्रोले मिलिसियाहरुले लगाउने खाइको पोशाक लगाएर संयुक्त राष्ट्र संघमा भाषण गरे, त्यस्तै लुगामा जीवन बिताए र आदर्शको उदाहरण बने । लेनिन र माओका कुरा पनि त्यस्तै उदारणीय छन् तर हाम्रो देशका माओवादी जसले हजारौंको रगतको खोला तरेर आएका हुन्, को जीवनशैली वुर्जुवाहरुको भन्दा पनि भद्दा र टुप्पिएको देखिन्छ । लाखभन्दा बढीको ओछ्यान, लाखौंको रोलेक्स घडी र फ्रान्सेली जेलको प्रचारले कम्युनिस्ट आत्माको हुर्मत लिएकै थियो । करोडौंको मोटर, राता हवेली र श्रीमतिहरुको चुरीफुरी सर्वहारा राजनीति विरुद्धको हर्कत थियो । आन्दोलनमा कुनै योगदान नगरेका नेताका छोराछोरी र आफन्तहरुको रवाफ पच्ने खालकै थिएन । उता आधारभूत वर्गका जनता, सहिद र वेपत्ताका परिवार र घाइते योद्धाहरुको जीवनको विचल्ली पुर्नै नसक्ने गरी गहिरिदै गएको छ । जनताले माओवादीभित्र भित्रिएको सम्भ्रान्त जीवनशैली नियालिरहेका थिए, अरु कुनै उपाय नदेखेपछि मतदानद्धारा खवरदारी गरे र भने
‘ कि माओवादी कम्युनिस्ट भन्न छाड कि कम्युनिस्ट आदर्श झल्कने जीवनशैली अपनाऊ ।’
उल्टो हिंडाइः
नेकपा (एकताकेन्द्र) जनयुद्धको अन्तिम तयारीसँगै माओवादी बनेको हो । यसको मुख्य र निर्णायक उद्देश्य जनतालाई राज्यसत्ताको मालिक बनाउने अथवा जनवादी राज्य व्यवस्था स्थापना गर्ने थियो । यो बाहेक हाम्रो उद्देश्य अरु हुनै सक्दैन भनेर ७ बुँदे प्रतिबद्धता लिखित रुपमै राखेको पनि हो तर माओवादीले बिच बाटोमै प्रतिबद्धता विपरित बाटो बदल्यो, रंग फे¥यो र पुरानो संसदीय व्यवस्थामा फर्कियो । यदि संसदीय प्रणालीमै फर्कनु थियो भने जनयुद्ध, त्यो पैमानाको वलिदान र हजारौंको रगत जरुरी नै थिएन । यो अर्थमा एमाओवादीले अपराध नै ग¥यो । यदि संसदीय राजनीति नै गर्नु थियो भने ०४८ सालमा नै अहिलेकै जत्रो तेस्रो ठूलो दल बनेकै थियो । इमान्दारी पूर्वक काम गरेको भए माओवादी सबभन्दा ठूलो संसदीय दल बन्न सक्थ्यो । किन जनयुद्धको नाटक गरियो ? अहिलेको जस्तै गणतन्त्र ल्याउनका लागि जनयुद्ध जरुरी नै थिएन । भारत लगाएतका देशको गणतन्त्र जनयुद्धले ल्याएको पनि होइन । हाम्रो देशमा संसदीय राजनीतिमा क्रियशील अर्को कम्युनिस्ट घटक एमाले छदै थियो । जसले विगत २५ वर्षदेखि विकृतिलाई व्यवस्थित ढंगले नेपाली राजनीतिमा भित्र्याएर संस्थागत गरेकै थियो साथै चुनावी रणनीतिमा पोख्त, व्यवस्थित र विस्तारित समेत थियो । यो ठाँउ एमाओवादीले लिन सक्ने सम्भावना नै थिएन । फेरि अर्को एमाले मुलुकको आवश्यकता होइन । एउटा देशमा एकै समयमा दुई दुईटा संसदीय कम्युनिस्ट पार्टी समान प्रभाव र हैसियतमा रहन नसक्ने तथ्य अन्तर्राष्ट्रिय राजनीतिमा स्थापित भएकै छ । यसकारण जनताले रातारात बढी खरानी घस्ने संसदीय कम्युनिस्ट माओवादी
भन्दा कैयौं वर्ष लगाएर खरानी घस्दै आएको एमालेलाई छाने ।
ढोङको भकारीः
बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि एमाओवादीको ढोङ छताछुल्ल भयो । एकातिर मुस्ताङ म्याक्स चढ्ने, विदेश जाँदा इकोनोमी क्लासको टिकट लिने र भ्रष्टाचारको सून्य सहनशीलताको नारा भट्याउने अर्कोतिर दैनिक हेलिकप्टरमा लाखौं राज्यकोष सिध्याउने, सरकार टिकाउनका लागि एकजना मात्रै सभासद भएका एनजियो (परिवार दल) लगायतकालाई क्याबिनेट मन्त्री बनाएर इतिहासकै सबैभन्दा जम्बो मन्त्रीमण्डल (४९ जनाको) बनाउने, पूर्ववर्ती प्रम सबैलाई उछिनेर निकै ठूलो (५४ जनाको) निजी सचिवालय खडा गर्ने र आफ्नै सल्लाहकारको एनजियो (माक्र्सवादी अध्ययन केन्द्र) लाई ७० रोपनी सरकारी जग्गा र सरकारी कोषबाट कैयौं लाख रकम उपलब्ध गराउने ढोङका केही उदाहरण मात्र हुन् । माओवादी प्रधानमन्त्रीले एकातिर आफ्नै वेपत्ता कार्यकर्ताको अवस्था सार्वजनिक गर्न नचाहने, सुकुम्वासी वस्तीमा डोजर लगाउने र जनताका छोराछोरीका निम्ति एउटा पनि थप विद्यालय र अस्पताल नबनाउने अर्कोतिर कार्यकर्ता वेपत्ता बनाउने कार्यमा सम्लग्नलाई बढुवाको फुली थपिदिने, विशिष्टहरुलाई आजीवन राज्यबाट सुविधा उपलब्ध गराउने र सुरक्षा वजेटमा व्यापक बढोत्तरी गर्ने ढोङका थप उदाहरण हुन । ‘सत्ताको साँचो अन्तै रहेछ, जुवा खेलेर आएँ’ भन्ने गम्भीर राष्ट्रिय चासोका विषय एमाओवादीकै पालामा व्यक्त भए । यस्ता कैयौ कम्युनिस्ट विरोधी ढोङ स्वयं एमाओवादीलाई महङ्गो सावित भयो । फर्जी नारा र गोयबल्स प्रचारः ‘एक युगमा एक पटक आउने संविधानसभा’ भन्ने नारालाई अर्को पटक पनि त्यसैमा घुमिरहनु, ‘अरुलाई हे¥यौं पटक पटक हामीलाई हेरौं एक पटक’ भन्ने नारालाई फेरि जनतालाई हेर्न बाध्य बनाउनु एमाओवादीको लागि प्रतिउत्पादक बन्यो । वर्गीय नारालाई छोडेर जातीय, क्षेत्रीय नाराको भरमा भोट बटुल्न लालायित हुनु, समानुपातिक निर्वाचन प्रणाली छोड्ने (आन्दोलनरत पार्टीसँग सम्झौता गरेर पुरानै कायम भएको) तर दुई तिहाइको आकांक्षी बन्ने, प्रचण्डलाई राष्ट्रपति र राष्ट्रको नेता भनेर उधारो सपनामा रमाउने, संविधानसभाको निर्वाचन भन्ने तर आवधिक संसदीय निर्वाचन जस्तोगरी विकासे गफले घोषणापत्र भर्ने सनातनी नाराले एमाओवादीप्रति जनता विकर्षण भए र मतदानद्धारा सानो साइजमा झारिदिए । वुर्जुवा पार्टीका नेता शुशिल कोइराला साइकल चढेर निर्वाचन प्रचारमा हिंड्ने तर सर्वहारा पार्टीका नेता प्रचण्ड हेलिकप्टर रिजर्व गरेर उड्ने शैली निकै आलोचित बन्यो । राष्ट्रिय आँखाबाट हेर्दा आक्रामक प्रचार अभियान र शैली देखिए पनि यो अभियानलाई उही गतिमा मतदातासम्म पु¥याउने एमाओवादीको संरचना, जिम्मेवारीवोध र जनशक्ति निकै कमजोर थियो । तर प्रचण्ड हेलिकप्टर चढेर गाउँ गाउँ पुग्दैमा र हेलिकप्टर देखाउँदैमा जनताले पत्याउँछन् र मत आफैंलाई खसाल्छन् भन्ने भ्रमबाट उनीहरु मुक्त हुन सकेनन् । एमाओवादीको प्रचार गृह एविसी टेलिभिजन, जनादेश पत्रिका र राटोपाटी नेट पत्रिका हावादारी सामग्री प्रशारण र प्रकाशनमा मस्त भए । ति मिडियाको गोयबल्स शैलीलाई जनताले पत्याउँथे भने एमाओवादीको दुई तिहाइ आउने थियो तर मतदाताले पत्याएनन् । राष्ट्रिय अभियानमा रमाउने नेता, गोयबल्स प्रचारमा डुब्ने पत्रकार र नमस्कार फर्काउने सबै मेरा मतदाता भनेर भ्रमित हुने उम्मेदवार कसैले पनि के कुरा बुझेनन भने अघिल्लो निर्वाचनमा एमाले मुख्यतः काँग्रेस गाउँ पुगेकै थिएनन् वा पस्न पाएकै थिएनन् तर यसपटक उनीहरु मिहिन तरिकाले गाउँ सहित सबैतिर संगठन बनाएका, प्रचार पु¥याएका र एमाओवादीको नाडी छामेका थिए । यही मनोगत रोगको कारण एमाओवादी सुकेनास लागे जस्तो भयो ।
विघटनको विजोगः
माओवादी समाजमा रहेको तल्लो वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक अन्दोलन थियो । यसको अर्को अर्थ यो हुन्छ कि माथिल्लो वर्गहित विरुद्ध ऊ परिचालित हुनैपथ्र्यो । यसकारण माओवादी जनयुद्ध, जनसेना र उसले बोकेको बन्दुक सर्वहारा वर्गको आश र भर थियो भने पूँजीवादी वर्गको लागि त्रास र डर । संविधानसभा–०६४ मा यि दुबै वर्ग आश र त्रासले एमाओवादीलाई समर्थन गरेका थिए तर ७० सालमा यो अवस्था रहेन । जब हतार र हतासमै जनयुद्धको अन्त्य, सेनाको विघटन र बन्दुक राज्यलाई बुझाउने काम एमाओवादीले ग¥यो तब माथिका दुबै वर्ग उसको विरुद्ध उभिए । जसमाथि आश र त्रास अनि भर र डर थियो त्यो नै नभएपछि सर्वहारा वर्ग र पूँजीपति वर्ग एकै पटक एमाओवादी विरुद्ध उभियो । यसकारण उ निकै सानो आकारमा खुम्चियो ।
(साभार -जलजला मासिकबाट)
प्रकाशित मिति:
December 09, 2013