५०/५० कि ३०/७० भन्ने विषयमा एमालेमा विवाद
मंसिर २४ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा समानुपातिकतर्फ सभाषद चयन गर्ने विषयमा मत बाझिएको छ ।
पार्टी मुख्यालय बल्खुमा सोमबारदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुमा फरक फरक धारणा आएको हो । एमाले स्थायी कमिटीले केन्द्र र स्थानीयलाई ५०/५० प्रतिशतका आधारमा सभाषद बनाउने प्रस्ताव गरेपनि अधिकांश केन्द्रीय सदस्यहरुले केन्द्रबाट ३० र स्थानीबाट ७० प्रतिशत सभाषद बनाउन आवाज उठाएका छन् ।
बैठकमा अध्यक्ष झलनाथ खनालले ४ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमाथि बोल्ने केन्द्रीय सदस्यहरुबीच भने विवाद उत्पन्न भएको हो ।
एमाले स्थायी कमिटीले यसअघि केन्द्रीय कमिटी र भूगोललाई मिलाएर ५०/५० प्रतिशतका हिसावले नाम सिफारिस गर्ने, चुनावमा भूमिका र योगादानको कदर गर्दै त्यसलाई आधार मान्नुपर्ने र पहिलो पटक अवसर पाएकालाई भन्दा नपाएकालाई पहिलो प्राथमिकता दिएर नाम सिफारिस गर्ने प्रस्ताव गरेको थियो ।
तर बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले ७० प्रतिशत स्थानीयबाट र ३० प्रतिशत भने केन्द्रबाट सभाषद चयन गर्न दबाब दिएका छन् । सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष खनालले प्रतिवेदनसहित आफ्नो धारण पेस राखेका छन् । बैठकको पहिलो दिन १३ जनाले आफ्नो धारणा राखेको र बैठक मंगलबार पुनः बस्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा प्राप्त गरेको मत क्षेत्रका आधारमा सभाषद चयन गरिनुपर्ने तथा श्रमजीविहरुको बढी भन्दा बढी प्रतिनिधित्व हुनुपर्ने माग पनि उठाएका छन् ।
आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पनि ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका छन् । उनीहरुले प्रधानमन्त्री, राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उपसभामुख तथा संवैधानिक समिति सभापति लगायतका विषय ताजा जनादेश अनुसार नै टुंग्याउनुपर्ने धारणा राखेका छन् ।
प्रकाशित मिति:
December 09, 2013