पौडेल पक्राउ बृहत शान्ति सम्झौता विपरीत : माओवादी
मंसिर २५ । नेकपा–माओवादीले परशुराम पौडेललाई पक्राउ गरेकोमा विरोध गरेको छ ।
बृहत शान्ति सम्झौता विपरीत द्वन्द्वकालीन मुद्दालाई पुनरावृत्ति गर्दै चितवनस्थित क. परशुराम पौडेललाई भरतपुर र शरदपुरबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको छ पार्टी अध्यक्ष मोहन वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, त्यस सन्दर्भमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
त्यसप्रकारको द्वन्द्वकालीन मुद्दालाई खारेज गरिनुको सट्टा उल्टो पुनरावृत्ति गरेर कार्यकर्ताको गिरफ्तार गरिएको भन्दै माओवादीले त्यसको कडा विरोध जनाएको छ ।
पार्टीले पौडेलको गिरफ्तारीको घोर विरोध एवं भत्र्सना गर्दै गिरफ्तार गरिएका पौडेललाई अविलम्ब रिहाई गर्न माग समेत गरेको छ ।
गोरखा फुजेल–७ का कृष्णप्रसा अकिारीको हत्याको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता पौडेललाई मंसिर २३ गते पक्राउ गरेको थियो ।
२०६१ जेठ २४ गते चितवन गएका गोरखा फुजेलका १७ वर्षीय अधिकारीलाई तत्कालिन माओवादीले अपहरण गरी हत्या गरेको आरोप लाग्दै आएको छ ।
हत्या आरोपमा पौडेललाई पक्राउ गरेपछि एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि यसअघि सरकारको कडा आपत्ति जनाएका थिए ।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटर तथा फेसबुक पेजमार्फत पौडेलको सट्टा आफूलाई पक्राउ गरेर देखाउन चेतावनी समेत दिएका थिए ।
भट्टराईले पौडेलको पक्राउ विस्तृत शान्ति सम्झौताको उल्लंघन भएको भन्दै सरकारलाई सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न वा आफूलाई पक्राउ गर्न चैतावनी दिएका थिए ।
प्रकाशित मिति:
December 10, 2013