प्याकेटको तेलले तोरीखेती बिस्थापित

पहिले गाउँघरमा तोरीखेती गर्ने र कोलमा पेलेर तेल निकाल्ने चलन थियो । तर अहिले आफैँले उत्पादन गरेको पौष्टिकयुक्त तेल विरलै पाइन्छ ।
बजारमा सस्तोमा सजिलै प्याकेट तेल खरिद गर्न पाउने भएपछि किसानले खर्चिलो र तेल पेल्न पनि अप्ठेरो तोरीखेती कम गर्दै गएको पाइन्छ । किसानलाई मिसावटयुक्त पोका तेलबाट स्वास्थ्यमा हुने बेफाइदाबारे भने जानकारी छैन । हाल तोरीखेतीसँगै परम्परागत तेल निकाल्ने कोल पनि लोप हुँदै गएको छ । पहिले गाउँघरमा तोरीखेती गरेर उत्पादित दानाको अचार, कोलमा पेलेर स्वास्थ्यवर्धक तेल उत्पादन र पिनाबाट कपडा तथा टाउको धुने गरिन्थ्यो ।
तोरीको व्यावसायिकखेती नहुँदा किसानलाई धेरै घाटा भएको बारेमा भने कसैले चेतना दिन सकेका छैनन् । खर्चिलोसँगै पोका तेल स्वास्थ्यलाई हानिकारक हो भन्ने आफूलाई जानकारी नहुँदा तोरीखेती गर्न छोडेको बाँधु–५ बोल्ढीकका देवी पाण्डेले बताउनुभयो ।
पहिले गाउँमा अन्य तेल पाइन्नथ्यो, तोरीखेतीबाट नै घरलाई पुग्ने तेल निकालेर प्रयोग गरिन्थ्यो, हाल प्याकेट तेलले अहिलेका किसानलाई केही अल्छी पनि बनाएको उनको भनाइ छ । हाल गाउँघरमा पहिलेको भन्दा करिब १० प्रतिशतले मात्र तोरीखेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको अधिकांश भाग तोरीखेतीका लागि उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । बजारमा पाइने तोरीको तेल (उत्सव र धारा)प्रतिप्याकेट७५ देखि ९० रुपैयाँमा खरिद गर्न पाइन्छ । तोरीको खेती कम भएसँगै माहुरीको सङ्ख्या पनि घट्दै गएको किसानको अनुभव छ ।
आफ्नै बारीमा उत्पादित तोरीखेतीको महत्व नबुझ्दा किसानले यो खेती छोडेका छन् । रासस
प्रकाशित मिति:
December 11, 2013