५ वर्षभित्रमा ८ लेनको चक्रपथ
मंसिर २३ । तीनकुने, कोटेश्वरदेखि भक्तपुर सूर्य विनायकसम्मको ६ लेन सडकको यात्राबाट उत्साहित उपत्यकाबासी अब ८ लेनको चक्रपथमा ५ वर्षभित्र नै गुड्न पाउने भएका छन् ।
आगामी ५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा निर्माण गर्न मित्रराष्ट्र चीनले आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता गरेपछि उपत्यकाको सडक व्यवस्थित गर्ने कारोबारले खबर छापेको छ ।
असारमा कोटेश्वर–कलंकी साढे ९ किलोमिटर चक्रपथ ८ लेन निर्माणमा सम्झौता गरेको चीनले बाँकी चक्रपथ पनि सँगसँगै विस्तार गर्ने भएको हो । कोटेश्वर–कलंकी लेन विस्तार सुरु भइसकेको छ ।
हाल ३ लेन रहेको यो सडकलाई ८ लेनमा विस्तार गर्न ४२ महिना लाग्नेछ ।
सहमतिअनुसार काम भए चक्रपथ नेपालकै सबैभन्दा चौडा, आधुनिक र सुविधासम्पन्न सडक हुनेछ । विस्तारित सडकमा सर्भिस सेन्टर, फुटपाथ र साइकल लेनसमेत रहनेछन् ।
सो क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि सुविधासम्पन्न सीसी क्यामरा जडान गरिनेछ । यसले दुर्घघटना न्यूनीकरणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सजिलो हुने मन्त्रालयले जनाएको छ ।
“
नेपाल सरकारले ३ महिनाअघि चक्रपथ विस्तारका लागि गरेको अनुरोध चीनले स्वीकार गरेपछि चिनीयाँ टोली नेपाल आई प्रारम्भिक सर्वे सुरु गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए । उनका अनुसार प्रारभ्भिक सर्वे भर्खरै सुरु भएकाले अहिले नै लागत अनुमान तयार गरिएको छैन ।
प्रकाशित मिति:
December 08, 2013