को–को छन् त कांग्रेसबाट मन्त्री बन्ने सुचीमा
फागुन । गृह मन्त्रालयको विवाद नेपाली कांग्रेस र उसलाई समर्थन गरेको दल एमालेबीच अझै मिल्न सकेको छैन ।
गृह मन्त्रालय नदिईकनै कांग्रेस एमालेलाई सरकारमा सहभागी गराउन चाहन्छ भने गृह मन्त्रालय नपाउँदा सरकारमा नै सहभागी नहुने एमालेले निर्णय गरिसकेको छ ।
यसै विषयमा विवाद चर्किदै गएपछि प्रधानमन्त्री सुशिल कोइराला भने अल्पमतको सरकार नै भएपनि विस्तार गरेर अघि बढ्ने सोचमा पुगेको बताइएको छ ।
सरकारमा एमाले नआए पनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई सहभागी बनाएर मन्त्रीमण्डल विस्तार गर्ने सोचमा कोइराला पुगेका छन् ।
कांग्रेसबाट को को मन्त्री बन्ने भन्ने विवाद पनि उत्तिनै छ । महामन्त्री प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेका छन् । प्रधानमन्त्री चयनकै दिन विनाविभागीयमन्त्रीको रूपमा शपथ खाएका डा. रामशरण महत अर्थमन्त्री र परराष्ट्रमन्त्रीका दाबेदार हुन् । तर, उनको बढी रुचि अर्थमा छ । महेश आचार्य पनि अर्थका दाबेदार छन् । परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का पनि दाबेदार छन् ।
प्रधानमन्त्रीले आनन्दप्रसाद ढुंगाना र दिलबहादुर घर्तीलाई पनि मन्त्री बनाउन खोजेका छन् । उनीहरू कोइराला कोटरीका मानिन्छन् । उपसभापति रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीलाई पनि मन्त्री बनाउन दबाब दिएका छन् ।
त्यस्तै, कांग्रेसमा कोषाध्यक्ष चित्रलेखा यादव, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा पनि मन्त्री बन्ने चर्चामा छन् । तीनैजना देउवानिकट हुन् ।
प्रकाशित मिति:
February 21, 2014