रमेश खरेलसँग सँगै फोटो खिचाउने व्यक्ति नै एकैछिनमा प्रहरी खोरमा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjCc38a06fRS6yF3t7lmpn9C4cukl8hFwTcly3BlUfc3rpDXvw4H-Fq20jyAcEzQ_Q90Dv4s2JrcDxk9FBQ05pupFVIrCA3OYaZne7hkSDcMzfN3paRunyeSKpX8HH06mceFBcRQFSwiLg/s1600/Ramesh_kharel.jpg)
कार्यक्रम सकिएको के थियो- यी ‘सेलिब्रेटी पुलिस’ सँग तस्बिर खिचाउनेको भीड नै लाग्यो । मञ्चमा उनीभन्दा पछिल्लो हरफको कुर्सीमा बसेका एक व्यक्तिले पनि उनीसँगै नारिएर तस्बिर खिचाए । जब गाडी चढेर खरेल अलि अघि मात्र बढेका थिए, एक स्थानीयको फोन आयो- ‘गुन्डागर्दी नियन्त्रण गर्छु भन्ने, अनि उल्टै आफैं गुन्डासँग बसेर फोटो खिचाउने…?’
एसएसपी खरेल अकमक्क परे । मञ्चमा आफूभन्दा पछाडि बस्ने, पछि सँगै तस्बिर खिचाउने ती व्यक्ति रहेछन्- प्रहरीले नै खोजी गरिरहेका गुन्डा शुक्रबहादुर लामा ‘बाघे’ ।
आपराधिक पृष्ठभूमिका बाघे सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रहेछन् । ‘पहिला म काठमाडौंमा हुँदा तर्किंदै भाग्थ्यो,’ खरेलले भने, ‘अहिले त सँगै फोटो खिचाउँदासमेत चिनिनँ, सर्वसाधारणले फोन गरेपछि पो झसंग भएँ ।’
आफूसँग भाग्दै हिँड्ने गुन्डाले सँगै तस्बिर खिच्ने हिम्मत गरेकामा उनी चकित परे । तर यसबारे जानकार थिए, महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवाली । उनले बाघेलाई त पक्राउ गरेनन् नै, सँगै तस्बिर खिचिरहँदासमेत हाकिमलाई जानकारी दिएनन् । खरेलले बाघेबारे थाहा पाएपछि फोन गरेर डीएसपी ज्ञवालीलाई आदेश दिए, ‘एक घन्टाभित्र पक्रेर ल्याउनू, नत्र तपाईंमाथि नै कारबाही हुन्छ ।’ आदेशको करिब १५ मिनेटमै पक्राउ परे, ‘बाघे’ । पक्राउपछि ‘बाघे’ लाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।
डकैती, लुटपाट, धम्की, अपहरण र धारिलो हतियार प्रहारजस्ता अपराधमा संलग्न ‘बाघे’ लाई प्रहरीले यसअघि तीन पटक पक्राउ गरेको थियो ।
दीपक मनाङेको समूहमा रहेका गुन्डा ‘बाघे’ २०५९ मा होटल उडल्यान्डमा एक व्यक्तिलाई खान बोलाएर हतियार देखाउँदै डकैती गरेको अभियोगमा पहिलो पटक पक्राउ परेका थिए । त्यतिखेर चार वर्ष जेल बसेर छुटेका उनी २०६४ मा होटल हायत रिजेन्सीमा सुनसरीका नगेन्द्र श्रेष्ठलाई खुकुरी हानी घाइते बनाएको अभियोगमा पक्राउ परे ।
त्यतिखेर जिल्ला प्रशासन कार्यालयले २८ हजार धरौटीमा रिहा गरेको थियो । छुटेकै दिन कलंकीस्थित मितेरी यातायातका शंकर गुरागाईंलाई अपहरण गरी कुटपिट गरेका उनलाई प्रहरीले अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दायर गरेको कान्तिपुरमा खबर छ । पुर्पक्षका लागि जेल चलान गरिएका उनी एक वर्षअघि छुटेका हुन् ।
प्रकाशित मिति:
February 23, 2014