लुसुक्क छिरेर मुसुक्क गर्नेहरु
काठमाडौं २ फागुन । ट्राफिक प्रहरीले आम्दानीको स्रोत भेट्न छाडेपछि के गर्ला ? सहजै अड्कलबाजी गर्न सकिन्छ, दोबाटो, कुनाकाप्चा छोयो, चिट लियो र समात्दै विभिन्न बहानामा जरिवाना ग¥यो । काठमाडौं लगायत देशको अधिकांश सहरी क्षेत्रमा, ट्राफिक प्रहरीको गतिलो आम्दानीको स्रोतको रुपमा जरिवाना दस्तुर हुंदै आएको छ ।
लौ यहां त ट्राफिक छैन होला भनेर अलिकति नियम मिच्ने प्रयास गर्नुभयो भने ट्राफिक प्रहरीको फन्दामा परिहाल्छ । कहां हो कहांबाट ट्राफिक प्रहरी फुत्त प्रकट हुन्छ, कुराकानी गर्नु त परै जाओस् अनुहार समेत नहेरेर लाइसेन्स मागिहाल्छ । लाइसेन्स माग्नु ट्राफिक प्रहरीको अधिकारकै कुरा हो । यहि अधिकारको सदुपयोग गर्दै हत्तनपत्त चिट काट्ने प्रवृत्ति ट्राफिक प्रहरीको पेशा नै बनिसकेको छ । सडकको चोकचोक गल्लिगल्लिमा ट्राफिक प्रहरी बसेर छापामार शैलीमा सवारीचालकलाई खानतलासी गर्नु ट्राफिक प्रहरीको नियमित धन्दा नै बनिसकेको छ । यसरी छापा मार्दा ट्राफिक प्रहरीलाई न्यूनतम २ सय हात पर्छ । जसमध्ये २५ प्रतिशत रकम चिट काट्ने ट्राफिक प्रहरीको हातमा पुग्छ भने ७५ प्रतिशत रकम राजस्वमा दाखिला हुन्छ । यसरी दाखिला हुने रकम पनि पारदर्शी नभएको गुनासो रहंदै आएको छ ।
ग्लोबल आइएमई बैंकको साझेदारीमा खाता खोली यसै बैंकमार्फत् ट्राफिक प्रहरीको दैनिक कारोबार हुन थालेपछि ग्लोबल आइएमई बैंक पनि मौकामा चौकाको शैलीमा रकम सङ्कलन गर्न व्यस्त देखिन्छ । यतिखेर उक्त बैंकको अधिकतम कारोबार ट्राफिक प्रहरीकै आम्दानी रहेको छ ।
सानो गल्तिकै कारण ठूलाठूला दुर्घटना हुनसक्ने कुरालाई नकार्न सकिंदैन तर यसरी ठाउं न ठहर बूढीको रहर भनेझैं अकस्मात प्रकट हुने भगवान झैं ट्राफिक प्रहरी फुत्त उपस्थित भइदिंदा कतिले त सातोपुत्लो उडेर प्रहरीलाई नै पच्काउने गरेका छन् ।
पछिल्लो समय जथाभाबी पार्किङबाट पनि ट्राफिक प्रहरीले मोटो रकम हात पार्न थालेका छन् । नो पार्किङको बोर्ड नराख्ने र किन पार्किङ गरेको भन्दै जरिवाना असुल्ने, एकतफीई बाटो भनी उल्लेख नगर्ने र लुकेर समात्ने, सम्झाईबुझाई गर्नुको साटो सिधै लाइसेन्स मागेर मानौं जरिवाना असुल्नु मात्रै ट्राफिक प्रहरीको काम हो, जस्तो व्यवहार गर्नु ट्राफिक प्रहरीको कमजोरीको रुपमा देखिएको छ ।
विकसित देशहरुमा ट्राफिक सम्बन्धी जानकारी नहुंदासम्म सवारी चलाउन दिइन्न, अनुमतिपत्र पनि प्रदान गरिन्न तर नेपालमा भने पद र पैसाकै भरमा सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएबाट एकातर्फ सवारी नियम नबुझी चालक बन्ने, अर्को तर्फ ट्राफिक प्रहरीले रकम असुली गर्न नछोड्नाले यसमै पनि माफियाको ठूलो षड्यन्त्र त छैन भन्ने संकाहरु जन्माएको छ ।
प्रकाशित मिति:
February 14, 2014