टुकी बत्ति बालेर पढें, मट्टितेल सकिन्छ भन्थे !
गायत्री थापा
जीवन अनुभव
मान्छेहरु विभिन्न थरीका छन् । मायांप्रेम गर्ने भन्नेहरु सबै इमानदार हुंदैनन् । जब म गीतको भावमा डुब्छु मलाई भित्री रुपले विक्षिप्त हुन्छु । मेरो मुटुको सानो झन्कार बजेपछि मात्रै दर्शकको मुटुको झन्कार बज्ने हो । म मेरो गीतमा रुने प्रयास गर्छु, जसबाट संवेदना पैदा हुन्छ, मान्छेले पाउने धोका यसको उपज हो ।
चोखो माया गर्ने मान्छेले सन्देश पाउनुपर्छ । सच्चा माया गर्ने पवित्र प्रेमी प्रमिकाले एकअर्काको साथ छोड्नु हुंदैन । म रोमान्टिक पनि त्यत्तिकै छु भने सिरियस पनि छु । म नयां पिंढीलाई ताकेरै गीत सिर्जना गर्ने गर्छु । “कि त मेरो नजिक सर, कि त गै जाउ पर, चाहे जति माया दिन्छु राम्री छैन तर” यसै सन्दर्भमा छ । यसले रोमान्टिक अवस्थाको प्रतिनिधित्व गर्छ । भरभोलि नै यो गीत बजारमा ल्याउने प्रयासले रेकर्डिङ हुंदैछ ।
आफ्नो जीवनमा भोगेकै मात्र गीत हुंदैनन् । कल्पना शक्ति पनि गीत सिर्जनाको मुख्य कडी हो । कतिपय मेल खाएको गीतले मुटुको कुरा मुटुमा लाग्ने हुंदा चर्चित पनि हुन्छु । मेरो धेरै हिट गीतहरु छन् । त्यसमध्ये ‘फूलजस्तो मन हुंदाखेरी धेरै धोका पाएकी छु, त्यसैले मन ढुङ्गाजस्तो बनाउन चाहेकी छु’ भन्ने बोलको गीत सिरियस सङ हो । लेख्दै जांदा, बुझ्दै जांदा यी संवेदनाहरु उत्पन्न हुन्छ । सडकदेखि महलसम्मका मित्रहरुलाई सङ्गत गर्दै जांदा यस्तो भोगाई जन्मने गर्छ । एउटा केटासंग मायाप्रिती भएकै कारणबाट मात्र मेरो गीत जन्मने होइन, छोराछोरीदेखि लिएर आफन्तहरुसंगको दुःख पीडा, तिनीहरुले मन दुखाउंदाको मनस्थितिबाट मेरो गीत उम्रन्छ । प्रायः त्यही सन्दर्भमा मेरो गीत आउंछ । म एकदमै व्यस्त पनि छु । आफ्नै विभिन्न अफिस, व्यापार पनि छ । एउटी केटी मान्छेले भोगेका यस्तै समस्याबाट नै सायद नयां कुरा आउंछ क्यार, मेरा गीतहरुको स्रोतको रुपमा यस्तै घटना आउने गर्छ । बेलुकी घर गएपछि १,२ घण्टा सङ्गीतको अभ्यास गर्छु, साधनामा रमाउंछु र ११ बजेतिर लेख्न बस्छु । गीत लेख्दा मलाई एकलासपन, एकान्त, सन्नाटा र शून्य स्थिति आवश्यक पर्छ । दिनभरको तनावमा मलाई गीत लेख्न आउंदैन । मेरा गीतहरु गीतै लेख्छु भनेर लेखेको उपज होइन । एउटा कुरा सम्झेपछि उत्पन्न भएको पीडाबाट गीत लेख्छु । मैले पवित्र मनले माया गरेको मान्छेले मलाई कति गलत सोच्दा रहेछन् भन्ने मलाई परेपछि मन मडारिन्छ । सोच्दा सोच्दै गीत बनिहाल्छ ।
‘किन सङ्का गर्छौ मेरो मत, चोखो माया गर्छु’ बोलको गीत पनि यही सोचाइबाट जन्मिएको गीत हो । मेरो सपना एल्बम बजारमा आउने तयारी छ । त्यसमध्ये एउटा गीत अन्जु पन्तको स्वर र पदम रोकायाको सङ्गीतमा बजारमा आउंदैछ । टेलिभिजनबाट प्रोमो बज्न थालिसकेको छ । डिजिटल युगमा लेखिका, गीतकार बांच्नका लागि सिआरबिटी र पिआरबिटीले उत्तिकै सहयोग गर्दो रहेछ । यसैलाई आधार लिंदै यो गीत बजारमा ल्याइहाल्ने प्रयास गरेकी हुं ।
मेरो जीवन उतारचढावमा बितेको छ । मेरो जीवनमा धेरै हदसम्म मेल खाएको गीत “फूलजस्तो मन......” बोलको गीत हो । यस गीतमा देखाइने दृश्यकै सोचाइ भने मेरो गीतको सोचाई थिएन । मेरो सोचाईमा मेरो सङ्घर्षको कथामा देखिएका तमाम धोकाधडी देखाउनु थियो । त्यो धोका प्रेमीबाट भन्दा पनि आफन्तबाट प्राप्त भएको थियो । एउटी छोरीमान्छे काठमाडौं सहरमा आएर धेरै सङ्घर्ष गर्नुप¥यो । यसलाई समेटेर एउटा पुस्तक नै निकाल्ने सोच पनि बनाएकी छु । काठमाडौं आएर धेरै हन्डर पनि खाएं । मैले गलत धन्दामा लाग्ने दुस्साहस गरिनं । केटाहरुसंग प्रेम पनि गरिनं । मन पराउने धेरै थिए, तर म कहिल्यै दौडिएर गइनं । आफ्नो लगनशीलताबाट नै आज म सफल भएकी छु । काठमाडौं आएपछि खाने पढ्ने पैसा थिएन । दुःख गर्दै व्यापार गर्दै केही राहत हुंदै गयो । आज एकमाना खाने भएकी छु । काठमाडौंमा बस्ने बास बनेको छ । मेहेनेत र सङ्घर्ष गर्नुपर्छ, काम सानो, ठूलो हुंदैन । जस्तो भएपनि काम भनेपछि गर्नुपर्छ । जो मान्छे लजाउंछ, त्यो प्रगतिको बाटोमा अघि बढ्न सक्दैन ।
उति बेला कमाई थिएन । अरुको जागिर खान जांदा पैसा पनि हुंदैन थ्यो । तलबको नाममा हजार, पन्ध्रसय जति दिन्थ्यो । कहिलेकाहिं त भोकभोकै पनि सुतेकी छु । मेरो विवाह सानो उमेरमै भएको हो । हरेक दृष्टिबाट विगतलाई सम्झंदा कहाली लाग्छ । माया प्रेम भन्दा दुःखको अनुभवबाट मलाई भाव आउंछ । श्रीमान्ले मलाई त्यत्ति टचर पनि गर्नुभएन । तर मलाई आफ्नो अस्तित्व सिर्जना गर्ने उत्साह र संकल्प थियो । मलाई नगर भनेर थुनछेक गर्दा पनि म अघि बढ्न रोकिनं । “म जिन्दगीमा तिम्रो कमाई खान्नं ।” भन्थें । माया प्रेम त अहिले पनि छ । सानै उमेरमा बिहे गरेकै श्रीमान् अहिले पनि हुनुहुन्छ । मेरो सासुससुरा, आमाबुबा कसैबाट पनि मलाई सहयोग थिएन । श्रीमानको साथ त थियो तर कमाई नभएको लोग्नेलाई अंगालेपछि साथले मात्रै पुग्ने पनि रहेनछ । साथ त थियो तर पैसा थिएन । श्रीमान्ले पनि पढ्नु थियो । आफैं दुःखमा हुनुहुन्थ्यो । अहिले उहां विद्यावारिधिको तयारीमा हुनुहुन्छ । काम गर्दै उहांले पनि धेरै सङ्घर्ष गर्दै अध्ययनलाई निरन्तरता दिनुभयो । उहांले भन्दा बढी सङ्घर्षको कथा मेरो रहेको छ ।
उबेला मेरो बिहा गर्ने इच्छा थिएन । बिहा नगर्ने भन्दाभन्दै मेरो विवाह भयो । म छ दिदीबहिनीमध्ये घरकी साहिंली छोरी हुं । कान्छीले डिग्री सिध्याइसकेकी छ । अर्की स्टाफ नर्स पढेर भारतमा छ । एउटी स्नातक सकाएर काम गर्दै छे । दिदीबहिनी सबै कमाउने भएका छन् । मैले मेरै दिदीबहिनीलाई समेत सहयोग गरेर पढाउनु परेको थियो । त्यतिखेर मेरो बुबाले पढाउने भनेपछि फिटिक्कै सुन्नु हुन्नथ्यो । कति दुःख गर्नुपथ्र्यो । टुकी बत्ति बालेर पढ्यो भने मट्टितेल सकिन्छ भनेर कराउनु हुन्थ्यो । मेरो जन्म गुल्मी जिल्ला हो । त्यहां भर्खरै मात्र बिजुली बत्ति पुगेको छ । गुल्मी जिल्लामै मैलेजस्तो दुःख र धोका पाएकी अरु आइमाई, केटी छैनन् होला ।
गीतसङ्गीतकै क्षेत्रमा पनि कठिन सङ्घर्ष गर्नुपरेको छ । राम्रा र सध्दे मान्छे कहिं कतै नभेटिने रहेछ । आफू लड्दालड्दै पछि ओझेलमा परिने । कतिले त कुरै काटेर उछित्तो पार्ने । महिला भएपनि जोश र जांगर भएकैले निडर छु । सङ्घर्ष र मेहेनत गरेर अझै सफल भएर देखाउने छु । सांघुरो सोचाइ भएकाहरुबाट बच्दै काम गरें । सबैले गरिब, अबला, नारी देखेपछि स्वार्थ लुट्न खोज्दथे । सिङ्गो विकृतिसंग एक्लो लडाइं लड्नुपरेको छ ।
मैले ७ वर्ष मेकअपको डिलर चलाएं । श्रीमान्ले ऊबेला व्यापार र सङ्गीत क्षेत्रमा आउनै दिनुभएन । कयौंपटक त कुटाइ पनि खाइयो होला । सबै कुरा खोलेर पनि नहुने, मनभित्र धेरै पीडा गुम्सिएर बसेका छन् । पीडा पर्दापर्दै पनि सफल भएं । यत्तिको होला भनी सोचेको पनि थिइनं । अहिले जे काम गर्दा पनि नगर भन्नुहुन्नं । उृहांको नाम भेषबहादुर हो ।
१ हजार सापट लिएर खासाबाट झोलामा वाकमेन, घडी ल्याएर न्युरोडमा बेच्थ्यौं । बिहान ल्याएर बेलुकी बिक्री गथ्र्यौं । त्यसपछि ६ महिनामा त मैले ट्रकबाटै सामान ओसार्न थालें । मैले जुन क्षेत्रमा हात हालें, सफल भएकी छु । अहिले मलाई सबैले विश्वास गर्छन् । फोनकै भरमा सबै काम गर्ने गरेकी छु । अहिले जुस, रेडबुल आदिको डिलर चलाएर बसेकी छु । बिहान उठेदेखि रुटिङ मिलाएर हिंड्ने गरेकी छु । भर्खरै आफू अध्यक्ष भएर सिर्जनशील राष्ट्रिय महिला संस्था भनेर दिदीबहिनी मिलेर एनजिओ पनि दर्ता गरेका छौं । सानासाना नानी ल्याएर देशकै होनहार व्यक्ति बनाउने योजना रहेको छ । आजसम्म १ घण्टा बसेर राम्ररी खान पनि पाएकी छैन ।
काठमाडौंमा सानो कोठा लिएर बसेकी मान्छे सबै सामान चोरी हुंदा, बेलुका आउंदा केही थिएन । खानेकुरा केण्ही थिएन । २,३ फ्वांक चिउरा खाएर सुतें । मेरो जीवन पीडैपीडामा बितेको छ । पहिले पढ्न पनि नपाएर पछि मात्रै इन्टर सकाएकी हुं । खाने खर्च जुटाउृनका निम्ति दिनहरु कट्थ्यो । कसैबाट सहयोग भएन । व्यापारबाट नै मान्छेले प्रगति गर्ने हो, सानै होस्, व्यापार गर्नुहोस् । खासाबाट घडी ल्याएर काठमाडौंमा बेचेर व्यापार सुरु गर्दा मेरो पहिलो आम्दानी ८० रुपैयां भएको थियो । म त्यस दिन खुसी भएकी थिए । यो ०५५।०५६ सालतिरको कुरा हो । त्यस ८० रुपैयांलाई लागनी सम्झेर फेरि व्यापार गर्न खासा गएं । म कोहीबाट डराउंदिनं ।
अहिले सङ्गीतको दुनियांमा पनि गीत माग्नेको तांती छ । म आफ्नै लागि मात्र गीत लेख्छु । श्रमशोषण गर्नेका लागि गीत लेख्न छाडिदिएकी छु ।
प्रकाशित मिति:
February 14, 2014