क्रान्तिका लागि तयार रहन विप्लवको निर्देशन
दिपबहादुर घर्ती

विहीबार जिल्लाको सदरमुकाम खलंगाको गैरीखालीमा उद्घाटन भएको तेस्रो जिल्ला सम्मेलनले ढकवीर राना शान्तलाई सेक्रेटरी चयन गरेको छ । साथै पूर्ण र वैकल्पिक गरी ८५ सदस्यीय जिल्ला समिति सदस्य जिल्ला समिति चयन गरेको छ ।
शुक्रबार बिहान सुरु भएको बन्दशत्रमा माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्द विप्लवले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा नेता विप्लवले नेपाली जनताको परिवर्तनकारी आन्दोलन अलपत्र परेको उल्लेख गर्दै अब माओवादीले त्यो क्रान्तिलाई पूर्णता दिने बताए । नेपाल र नेपाली जनताका समस्याहरु अन्य कुनै पनि प्रक्रियाबाट समाधान हुन नसक्ने बताउँदै सचिव विप्लवले क्रान्तिबाट मात्र सम्पूर्ण समस्याहरुको समाधान हुने प्रष्ट पारे । त्यसका लागि आम जनतालाई एकजुट बनाउन र त्यसको नेतृत्व गर्न आफ्नो पार्टी तयार भएको उनको भनाई थियो । नेता विप्लवले बन्दशत्रमा सहभागी कार्यकर्ताहरुलाई क्रान्तिका लागि तयार हुन निर्देशन समेत दिएका थिए ।
बन्दशत्रमा नेकपा माओवादीका केन्द्रीय सदस्य एवं भेरी कर्णाली राज्य समितिका इन्चार्ज पारसमणी, केन्द्रीय सदस्य गगन खड्का लगायतले पनि प्रशिक्षण दिएका थिए । सम्मेलनले ६१ सदस्यीय पूर्ण जिल्ला समिति र बाँकी वैकल्पिक जिल्ला समिति सदस्यहरुलाई सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित सचिव ढकवीर राना शान्तले शनिवार पत्रकार सम्मेलन गरेर नवनिर्वाचित कार्यसमितिको घोषणा गर्ने जनाएका छन् ।
प्रकाशित मिति:
March 15, 2014