टनकपुर भारतकै हो भनेर किन भने प्रधानमन्त्री कोइरालाले !
फागुन १९ । कांग्रेस सभापति सुशिल कोइरालालाई राष्ट्रियतामा नझुक्ने नेताको रुपमा चित्रण गरिन्छ । यतिसम्म की उनले भारतीय राजदूतलाई समेत राष्ट्यिताकै विषयमा हप्काए भनेर केही समय अगाडी समाचार समेत आएका थिए । राष्ट्रियतामा घुँडा नटेक्दा उनी भारतको ब्लाक लिस्टममा तीन पटक परे भनेर समेत चर्चा गरिने गर्छ ।
तर, जब सभापति कोइराला प्रधानमन्त्रीमा चुनिए त्यसलगत्तै उनको बोली भने एक सय असी डिग्रीमा फेरिएको छ ।
टनकपुरबारे के बोले कोइरालाले ?
प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला बाँके पुगेका प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेका थिए । उनलाई टनकपुर वा महाकाली सन्धि, जलस्रोत अथवा सिँचाइजस्ता कुनै पनि विषयमा पत्रकारले प्रश्नै सोधेका थिएनन् । उनले संविधान निर्माणको विषयमा केहीबेर बोलेपछि पत्रकारले सोधेका थिए, ‘नेकपा–माओवादीलगायतका दलहरू बाहिरै छन्, उनीहरूलाई बाहिरै राखेर तपाईं चार दल मात्र कसरी अघि बढ्नुहुन्छ रु’ तर जवाफमा प्रधानमन्त्रीले भारतले सानो सात मिटर जग्गा मिचेको प्रसंग निकालेको खबर आजको नयाँ पत्रिकामा उमेश चौहानले खबर लेखेका छन्।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भनाइ थियो, ‘तपाईंलाई लास्ट एअर, म भनौँ, ०४८ सालको कुरा हो, जुन एउटा भारतले सानो सात मिटर, एफलक्स बन्ड बनायो । टनकपुर, महाकालीको एफलक्स बन्डको कुरा त्यस्तो बल्झिएको कुरा थिएन । त्यसमा हो–हंगामा भएर, बाफरे, टनकपुर बेच्यो भने । टनकपुर भनेको भारत हो । त्यो पनि बुझ्या छैनन्, अनि टनकपुर बेच्यो भन्छन् । यस्तो हो–हल्ला, अनि मुलुकको विकास कसरी हुन्छ रु तपाईंहरू यस्तो योङ ऊहरू हुनुहुन्छ, अब त भविष्य तपाईंहरूको ।’
०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । संसद्को दुईतिहाइले पास गरेपछि एमालेका प्रभावशाली नेता वामदेव गौतमले विद्रोह गरेर नेकपा ९माले० बनाएका थिए । उनै गौतम उपप्रधानमन्त्री भएको वेला प्रधानमन्त्रीले सन्दर्भविनै महाकाली सन्धिको विवाद बल्झाएका छन् ।
के लेखिएको छ त सुगौली सन्धीमा ?
सुगैालि-सन्धीको धारा ५ मा उल्लेख भएको यो ब्यहोराले महाकालि नदि सहित त्यसदेखि पूर्वको संपूर्ण भूभाग नेपालको हो भन्ने प्रष्ट पार्दछ। सन्धिमा महाकालिदेखि पश्चिमको भूभागलार्इ मात्र भारत भनिएको छ:
"नेपालका राजा स्वयंका लागि, राजाका उत्तराधिकारीहरु वा वारिसहरुका लागि काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सम्पूर्ण दाबीहरु परित्याग गर्नेछन् र ती देशहरु वा तिनका बासिन्दाहरुसित कहिल्यै कुनै चासो राखिने छैन ।"
मिति ०४९ मंसीर ३० गते सर्वोच्च अदालतले गरेको यो फैसलाले टनकपुर सन्धिमा नेपालको भूमि मिचिएको छ भन्ने कुरा प्रष्ट पार्दछः
"बायाँ तटबन्धको लागि नेपालले उपलब्ध गराएको जग्गा र सोभन्दा पश्चिमको नेपाल–भारत सीमासम्मको नेपाली भूभाग र त्यसमा रहेको प्राकृतिक स्रोत र साधनहरूमा नेपालको सार्वभौमसत्ता र नियन्त्रण अविछिन्नरूपमा कायम रहने, त्यसमा नेपालले सार्वभौमसत्तासँग सम्बन्धित सबै अधिकारहरूको प्रयोग गर्न पाउने....."
यता राष्ट्रियताका विषयमा निक्कै चासो राख्ने विश्लेषक भरत दाहालले भने सर्वोच्चको फैसलामा उल्लेख भएको नेपालको संपूर्ण भूमि भन्दा ४ गुना बढि जमिन भारतले अतिक्रमण गरेर भारतीय झण्डा गाडेको बताएका छन् ।
किन बोले त त्यसो भए कोइरालाले ?
प्रधानमन्त्री सुशिल कोइराला म्यानमारमा जानु अघि यो कुरा बोलेका हुन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन म्यानमार जाँदा उनले भारतीय समकक्षीलाई भेट्ने कार्यक्रम छ । कोइरालाले भारतीय प्रधानमन्त्रीदेखि अन्य देशका समकक्षीसँग आज भेट्दैछन् । भारतीय समकक्षीलाई राजी बनाउन र आफू भारत लाइनकै हो भन्ने देखाउन यस्तो राष्ट्रहित विपरित बोलेको राजनीतिक वृत्तमा चर्चा छ ।
प्रधानमन्त्री बोलीको विरोध !
महाकाली नदी नेपाल भारत बीचको सिमानदी भएको र दुबै देशको बराबर अधिकार भएको कुरा सम्पूर्ण नेपाली जनतालाई जगजाहेर हुँदाहुँदै प्रधानमन्त्री कोइरालाले दिएको अभिव्यक्तिको नेकपा माओवादीले चर्को विरोध गरेको छ ।
पूर्व प्रधानमन्त्री स्व. श्री गिरिजाप्रसाद कोइरालाले गरेको टनकपुर सम्झौताबारे सम्पूर्ण नेपाली जनता र राष्ट्रको चासो, बहस र सर्वोच्च अदालतको निर्णयले टुङ्गो लागिसकेको विषय भएको भन्दै माओवादीले प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै प्रधानमन्त्री शुशिल कोइरालाले ‘टनकपुर नेपालको नभएको’ गैरजिम्मेवारपूर्ण र नेपालको राष्ट्रियता विरोधी दिएको अभिव्यक्ति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई नेपालको राष्ट्रियता विरोधी सो अभिव्यक्ति फिर्ता लिन र राष्ट्र र जनताप्रति माफी माग्न माग समेत गरेकी छिन् ।
तस्बीर: सामाजिक सञ्जालमा नेपालको सिमानाबारे फेला परेको एमिनेशन फोटो ।
तस्बीर: सामाजिक सञ्जालमा नेपालको सिमानाबारे फेला परेको एमिनेशन फोटो ।
प्रकाशित मिति:
March 03, 2014