संसद बैठकमा आवश्यक संख्या नपुगेपछि बैठक नै रोकियो
फागुन २२ । व्यवस्थापिका संसदमा आवश्यक संसद संख्या नै नपुगेपछि बैठक नै स्थगित भएको छ ।
एक वर्षभित्र संविधान निर्माण गर्ने वाचा गर्दै संविधानसभा छिरेका सभासदहरु संविधानसभा सुरु भएको दुई महिना पनि बित्न नपाउँदै लाखापाखा लाग्न थालेपछि बैठकमा आवश्यक संख्या नै नपुगेको हो ।
सरकारले प्रस्तुत गर्न लागेको सुपुर्दगी अध्यादेश २०६९ अस्वीकार गरियोस् भनी नेमकिपाका सभासद् प्रेम सुवालले प्रस्तुत गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन लाग्दा विपक्षी दलले गणपुरक संख्या नपुगेको भन्ने प्रश्न उठाएपछि बिहीबार सदन लज्जास्पद रुपमा स्थगित भएको हो । व्यवस्थापिका संसदमा गणपुरक संख्या नपुगेकै कारण सुपुर्दगी सन्धीसम्वन्धी अध्यादेश पारित हुन सकेन ।
उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुपूर्व एमाओवादीका सभासद् रामनारायण विडारीले व्यवस्थापिका संसदको नियमावली १२१ अनुसार गणपूरक संख्या नपुगेकाले निर्णयार्थ पेस नगर्न माग गरेपछि सभामुखले उनको भनाइ सच्याउँदै संविधानअनुसार गणपुरक संख्या गन्न लगाएका थिए।
संसदका कर्मचारीले बैठकमा उपस्थित सभासदहरुको संख्या गनिसक्दा उपस्थित संख्याको एक चौथाइ अर्थात १ सय ४३ सदस्य उपस्थित हुनुपर्नेमा जम्मा १ सय २७ मात्र उपस्थित देखिएपछि गणपुरक संख्या नदेखिएको भन्दै सदन स्थगित भएको छ।
बैठक स्थगित अगावै लामो समयदेखि अनशनरत अधिकारी दम्पतीको जीवनरक्षा र हत्यामा संलग्नमाथि छानबिनबारे सभासदहरुले सरकारसँग जवाफ मागेपछि कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले घटनाबारे अनुसन्धान भइरहको संसदलाई जानकारी गराएका थिए ।
यस्तै, वनमन्त्री महेश आचार्यले सरकारले आगामी असार मसान्तसम्म क्रसर उद्योग दर्ता गर्न बन्देज गरेको व्यवस्थापिका संसदलाई जानकारी गराए ।
प्रकाशित मिति:
March 06, 2014