हतियारसहित पक्राउ परेका नेविसंघका नेतालाई थुन्ने विरुद्धको रिट खारेज

फागुन २६ । हतियारसहित पक्राउ परेका नेपाल विद्यार्थी संघका पाँच जना नेता तथा कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको भन्दै परेको रिट अदालतले खारेज गरिदिएको छ ।
गत बुधबार राति हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति तथा नेविसंघका नेता शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री शतीश शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्कालाई गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै बलराम बस्नेतले गत २१ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकोमा सर्वोच्च अदालतले उक्त रिट खारेज गरिदिएको हो ।
रिट खारेजसँगै अब हतियारसहित पक्राउ परेका उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिएको आदेश सदर भएको छ।
रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले कानुन बमोजिम जिल्ला प्रशासन कार्यलयद्वारा म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आकर्षित नहुने ठहर गरेको हो ।
स्वयम्भू प्रहरी वृत्तले सीतापाइलाबाट हतियारसहित पक्राउ गरेका उनीहरुलाई प्रहरीले हतियारको इजाजत नवीकरण नभएको तथा रातिको समयमा समूहमा हतियार बोकेर हिँडेको विषयमा अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति:
March 10, 2014