कोरियामा न्यूनतम तलब २८.६ प्रतिशतले वृद्धि गर्न माग
चैत्र ३० । दक्षिण कोरियाका कामदारले न्यूनतम तलब २८.६ प्रतिशतले वृद्धि गर्न माग गरेका छन् । मजदुर संगठनहरुले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको खबर कारोबार दैनिकमा छ ।
अहिले १ घन्टाको न्यूनतम ज्याला ५२ सय १० वन (५.०३अमेरिकी डलर) छ । न्यूनतम ज्याला निर्धारण गर्न बनेको त्रिपक्षीय सरकारी प्रतिनिधि, रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधिबीच गत शुक्रबार पहिलो चरणको छलफल भएको थियो ।
बैठकमा मजदुर प्रतिनिधिहरुले आर्थिक तथा मूल्यवृद्धि र श्रम बजारको आय असमान रहेको जनाउँदै आधारभूत तलबमा २८।६ प्रतिशत अर्थात प्रतिघन्टा ६ हजार ७ सय वन बढाउन माग गरेका हुन् । शुक्रबार कुनै निर्णय नभएकाले आगामी जुन २९ मा ज्याला निर्धारण गरेर अगस्ट ५ मा श्रम तथा रोजगारमन्त्रीले घोषणा गर्ने सरकारी योजना रहेको छ ।
विभिन्न मजदुर संगठनहरुले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्याला वृद्धि गर्न सरकारलाई दबाब दिने बताएका छन् । देशको आर्थिक वृद्धि र मूल्यवृद्धिलगायत विभिन्न सूचकांकका आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो ।
प्रकाशित मिति:
April 13, 2014