दसगजामा दोहोरो आवागमन पूर्ण बन्द
वैशाख १७ । महोत्तरीसहितका भारतसँग सीमा जोडिएका दसगजा (नेपाल–भारत सीमाक्षेत्र) मा दोहोरो आवागमन पूर्ण रुपले बन्द गरिएको छ।
भारतका सीमावर्ती जिल्लामा आज लोकसभाका लागि सातौँ चरणको मतदान भइरहँदा दुवैतर्फका सुरक्षा अधिकारीको सहमतिमा महोत्तरी जिल्लाको मटिहानीसहितका सीमावर्ती नाकामा दोहोरो आवागमन पूर्ण रुपले बन्द गरिएको हो।
निर्वाचनमा सीमाक्षेत्र भएर आपराधिक गतिविधि हुनसक्ने भन्दै भारतीय पक्षका मधुवनी, झञ्झारपुरसहितका जिल्लाका सुरक्षा अधिकारीको आग्रहमा मतदान नसकिउन्जेल ७२ घण्टा आवागमन बन्द गरिदिन भएको आग्रहअनुसार सीमाक्षेत्रको आवागमन पूर्ण रुपले बन्द गरिएको महोत्तरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले जानकारी दिए।
जिल्लाको सीमा जोडिएको भारतको विहार राज्यमा पर्ने मधुवनी र धनुषा, सिरहा र सप्तरीसहितका जिल्लासँग सीमा जोडिएका समेत सात निर्वाचन क्षेत्रमा आज भारतीय लोकसभाका लागि सातौँ चरणको मतदान भइरहेको छ। सीमाक्षेत्रमा गत सोमबारदेखि आवागमनमा लगाइएको रोक आज साँझ ५ बजे मतदान सकिनासाथ खुला गरिने दुवैतर्फका अधिकारीले जनाएका छन्। रासस
प्रकाशित मिति:
April 30, 2014