एमाओवादी अखिलको सम्मेलनमा भाँडभैलो, माइक समेत खोसाखोस
चैत्र २६ । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा नयाँ नेतृत्व चयनका विषयमा भाँगभैलो मच्चिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षिय रमेश मल्ल र बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठ पक्षीय जागृत रायमाझी पक्षका बिचमा नेतृत्वका विषयमा कुरा नमिलेपछि विवादले उग्र रुप लियो ।
नेतृत्व गर्ने विषयमा सहमति हुन नसकेपछि पार्टी हेड्क्वाटरले पुरानै नेतृत्व हिमाल शर्मालाई निरन्तरता दिने निर्णय गरेपछि सम्मेलनस्थल कीर्तिपुरमा झनै तनाव उत्पन्न हुन पुगेको थियो ।
सम्मेलनमा चुनावमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै प्रतिनिधि पर्यवेक्षकले सम्मेलन वहिस्कार गर्दै हलमा नारावाजी गरेका थिए भने उम्मेदवारहरुबीच माइक खोसाखोस भएको थियो ।
सम्मेलनले नेतृत्व छान्न नसकेपछि पार्टी हेर्डक्वाटर बैठक बसेर अध्यक्षमा पुरानै नेतृत्व दोहोर्याउने निर्णय गरेको थियो । हेर्डक्वाटरले राष्ट्रिय सम्मेलन आयोजक समितिलाई नै एक वर्षसम्म कायम राख्ने र एक वर्षपछि विशेष सम्मेलन गर्ने निर्णय गरे पनि उक्त निर्णयपछि कीर्तिपुरमा भने नयाँ नेतृत्वको माग गर्दै नाराबाजी समेत भएको थियो ।
निर्णयप्रति असन्तुष्ट विद्यार्थी नेताहरुले हस्ताक्षर संकलन अभियान थालेका छन् । सम्मेलनमा सहभागी करिब ८० प्रतिशत विद्यार्थीले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न माग गर्दै पार्टी हेर्डक्वाटरमा हस्ताक्षर बुझाउन लागेका छन् ।
यता, कीर्तिपुरस्थित सम्मेलन हलमा विवाद मिलाउन अध्यक्ष दाहाल जाने भनिए पनि विद्यार्थीहरुले चर्को रुपमा नाराबाजीसहित विरोध जनाएपछि उनी नगएको बुझिएको छ ।
प्रकाशित मिति:
April 09, 2014