पर्यटक मजदुरहरु आन्दोलित
काठमाडौ १३ जेठ । विदेशी पर्यटकबाट पर्यटन मजदुरहरुका नाममा उठाइएको तेत्तिस प्रतिसत रकम नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्टस् एशोशिएसन अफ नेपाल (टान) ले मनपरी गरेको भन्दै पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलनमा उत्रेका छन् ।
अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले राजधानीको संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनलाई अगाडि बढाएको बताए । उनीहरुले भने, ‘हामीले एक दशकदेखिको समस्याको हल खोजिरहेका छौ ।’
अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघका अध्यक्ष रामबहादुर बस्नेतले २०६६ सालमा सरकार, टान र पर्यटन बोर्डसँग पर्यटन मजदुर प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन गर्न आन्दोलनको घोषणा गर्नु परेको बताए । उनले भने, ‘वास्तवमा पर्यटन मजदुरहरुको समस्या नबुझ्ने तर आफ्नो स्वार्थमा पर्यटन उद्योग ध्वस्त पार्ने काम ठुलाबडाहरुले गरिरहेका छन् ।’
उनका अनुसार दोस्रो चरणमा २०६६ सालदेखि प्राप्त टिम्स (पर्यटकबाट उठाइएको कर) मा भएको अनियमितताको छानवीनका लागि जेठ १४ गते मजदुर प्रतिनिधि समेत रहने गरी छानवीन समिति बनाउन पर्यटन मन्त्रालयलाई अनुरोध गर्ने, जेठ १६ गते टानमा राखिएको मागका सम्बन्धमा पर्यटन ब्यवसायीहरुसँग छलफल गर्ने र यही विषयमा जेठ १८ गते पर्यटन मजदुरहरुबीच छलफल गर्ने कार्यक्रम रहेको छ ।
संघका अध्यक्ष रामबहादुर बस्नेत र महासचिव ठमानसिंह तामाङद्धारा जारी विज्ञप्तिमा पर्यटक मजदुरहरुको मागप्रति वास्ता नभएमा जेठ १९ गते यस विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितता गर्ने विरुद्ध उजुरी गर्ने कार्यक्रम रहेको बताइएको छ । यसैगरी उनीहरुले जेठ २० गते श्रमजीवी मजदुरहरुलाई उचित पारिश्रमिक नदिने बिग हाउसहरुको नाम सार्वजनिक गर्ने र यति गर्दासम्म माग पुरा नभएमा जेठ २१ गते श्रमजीवी मजदुरहरुले राखेको मागप्रति वेवास्ता गर्ने टानका नेतृत्वको पुत्ला दहन गर्ने कार्यक्रम राख्न बाध्य भएको बताइएको छ ।
सोही संगठनका महासचिव तामाङले पत्रकारहरको जिज्ञासामा भने, ‘हामी दैनिक ५ सय रुपैया पाउँछौ, तर हाम्रो नाममा प्राप्त हुने रकम अरुले मस्ती गर्ने भएकाले यस क्षेत्रका मजदुरले ६० वर्षपछि काम गर्न नसक्ने भएकाले त्यस्ता मजदुरका लागि यो आन्दोलन गर्न बाध्य भएका छौ ।’
प्रकाशित मिति:
May 27, 2014