मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु : प्रधानमन्त्री
काठमाडौँ, १४ जेठ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा भाग लिन यही जेठ १२ नयाँदिल्ली जानुभएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री कोइरालाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारत भ्रमण भारतसँग मात्र नभएर सार्कका अन्य मुलुकहरुसँग पनि द्विपक्षीय हितका बारे छलफल गर्ने ऐतिहासिक अवसर भएको बताए ।
प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीसँगको भेटमा दुई देशको हितका बारेमा छलफल भएको र आफूले नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको जानकारी दिए ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले दुवै देशको आर्थिक समुन्नतिका लागि जलविद्युत्, व्यापार, लगानी, पर्यटन, कृषि जस्ता महत्वपूर्ण क्षेत्रमा थप सहयोग र सहकार्य हुनुपर्ने विचार राखेको जानकारी दिनुभयो । साथै उहाँले नेपालको वर्तमान राजनीतिक अवस्था तथा संविधान लेखनका क्रममा भएका प्रगतिबारे भारतीय समकक्षीलाई जानकारी दिएका थिए ।
उनले प्रधानमन्त्री मोदीलाई नेपाली जनता र सरकारका तर्फबाट बधाई ज्ञापन गर्दै हालै भारतमा सम्पन्न लोकसभाको निर्वाचन विश्वमै प्रजातन्त्रको राम्रो अभ्यास भएकाले यसले संसारभरका प्रजातन्त्रवादीलाई उत्प्रेरणा मिलेको बताए ।
उनले भारतमा रहँदा राष्ट्रपति प्रणव मुखर्जी, काँग्रेस आईका अध्यक्ष सोनिया गान्धी, निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंह एवम् भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग महत्वपूर्ण भेटवार्ता हुनु पनि ऐतिहासिक उपलब्धि भएको बताए ।
भ्रमणका बेला प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति:
May 28, 2014