भारतीय नागरिकद्वारा अवैधानिक भुसे इँटा उद्योग सञ्चालन
जेठ । नेपालमा भारतीय नागरिकद्वारा बर्दियामा अवैधानिक रुपमा भुसे इँटाभट्टा सञ्चालनमा ल्याइए पनि सरकार बेखबर बनेको छ । कानुनीरुपमा दार्ता नै नगरी यसरी भुसे इँटा उद्योग सञ्चालन भएपछि राज्यको राजस्व चुहावट भइरहेको छ ।
जिल्लामा भुसे इँटा उद्योगको यकिन तथ्याङ्क नभए पनि १०० भन्दा बढीको रहेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत रेमन्तबहादुर डाँगीले बताए ।
विभिन्न स्थानमा नेपाली नागरिकले उद्योग सञ्चालन गरे तापनि अधिकतम भारतको बरेलीलगायतका स्थानबाट आएका व्यक्तिहरूले त्यस्ता इँटा उद्योग सञ्चालन गर्ने गरेको उनले जानकारी दिए ।
बर्दिया जिल्लामा वैधरुपमा दर्ता गरिएका नौ वटा इँटा उद्योग भए पनि गैरकानुनीरुपमा सञ्चालनमा आएका भुसे उद्योगका कारण राज्यलाई कर तिरिरहेका उद्योगी मर्कामा परेका उनले बताए ।
भारतीय नागरिकबाट सञ्चालित त्यस्ता उद्योग बन्द गर्नेतर्फ कसैले चासो नदेखाएको इँटा व्यवसायी महासङ्घ बर्दियाका उपाध्यक्ष मनोजकुमार वर्माले बताए ।
स्थानीय प्रशासनमार्फत मन्त्रालयमा पटकपटक धाउँदा पनि त्यस्ता उद्योगलाई कारबाही गर्न नसकिएको उनको भनाइ छ । रासस
प्रकाशित मिति:
June 04, 2014