उपनिर्वाचनको पूर्व सन्ध्यामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप
धनगढी, ७ असार । संविधानसभा उपनिर्वाचनको पूर्व सन्ध्यामा कैलाली निर्वाचन क्षेत्र नं ६ को फूलबारीमा गएराति एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
झडपकै क्रममा काँग्रेस कार्यकर्ता लक्ष्मी देवकोटाको से३प ८०१२ र से२प ३३२१ नम्बरको मोटरसाइकलमा एमाले कार्यकर्ताले तोडफोड र आगजनी गरेको स्थानीयवासी सन्तराम चौधरीले बताए ।
आचारसंहिताविपरीत फूलबारीमा एमालेका कार्यकर्ताले गरिरहेको चुनावी प्रचारप्रसारलाई रोक्न खोज्दा एमाले कार्यकताहरू आक्रमणमा उत्रिएका चौधरीले बताए । घटनामा केही व्यक्ति घाइतेसमेत भएका छन् ।
तोडफोडमा संलग्न भनिएका कृषि विकास बैंकका कर्मचारी अनिल सुवेदी र एमाले कार्यकर्ता भुवन रिजालविरुद्ध प्रहरी चौकी फूलबारीमा किटानी जाहेरी दिइएको जनाइएको छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश पण्डितले घटनाबारे विस्तृत जानकारी नआएको बताए । अहिले फूलबारीको अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति:
June 21, 2014