अनलाइन सञ्चालनबारे सुझाव पेस
१९ जेठ । अनलाइन सञ्चारमाध्यम (खबर) सञ्चालन प्रक्रिया व्यवस्थापन सुझाव समितिले आज आफ्नो प्रतिवेदन सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई बुझाएको छ ।
मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा समितिका संयोजक एवम् प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मन्त्री रिजाललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सूचना तथा सञ्चार मन्त्रालयबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन प्रक्रिया व्यवस्थापन सुझाव समिति गठन तथा कार्यादेश, २०७० स्वीकृत गरी मन्त्रीस्तरीय निर्णयअनुसार गत मंसिर १८ गते प्रेस काउन्सिलका अध्यक्ष कार्कीको संयोजकत्वमा पाँचसदस्यीय सुझाव समिति गठन गरिएको थियो ।
उक्त समितिमा सूचना विभागका महानिर्देशक, नेपाल पत्रकार महासंघका अध्यक्ष, अनलाइन खबर सञ्चालन गर्ने संस्थाका प्रतिनिधि सदस्य र सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव सदस्यसचिव रहेका थिए । प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री डा. रिजालले वर्तमान अवस्थामा बढिरहेको प्रविधिको विकासले सरलता तथा जटिलता दुवै ल्याएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित र अधिकतम उपयोग गर्नेतर्फ लक्षित हुनपर्ने बताए । उनले अनलाइन सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनका लागि नियमावली बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संयोजक कार्कीका अनुसार समितिले गरेका सिफारिसमा अनलाइन मिडिया तोकिएको ढाँचामा सूचना विभागमा दर्ता हुनुपर्ने, अनलाइनको नियामक निकायका रूपमा प्रेस काउन्सिल नेपालले कार्य गर्ने, राष्ट्रिय प्रसारण ऐन २०४९ र छापाखाना तथा प्रकाशन ऐन नियमावलीअन्तर्गतका विभिन्न दफाहरूमा संशोधन गरी अनलाइन सञ्चारमाध्यमलाई पनि समाहित गर्ने, अनलाइन पत्रकारितालाई परिभाषित गरी सो परिभाषाभित्र समेटिएका सबै पक्षले पत्रकारिता आचार संहिताको पूर्ण पालना गर्नुपर्ने, अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन सोही समाचार प्रकाशित भएकै पृष्ठमा प्रकाशित गर्नुपर्ने र एक वर्षसम्मको अभिलेख राख्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सिफरिसमा अनलाइन सञ्चारमाध्यमले प्राप्त गर्ने आयलाई करको दायराभित्र ल्याउने, अनलाइन सञ्चारमाध्यममा पूर्णकालीन रेडियो वा टीभी प्रसारण हुने भए त्यस्ता अनलाइन सञ्चारमाध्यमले रेडियो टीभीसरहकै लाइसेन्स लिनुपर्ने, सरकारी सञ्चारमाध्यमले बद्लिँदो सूचना सञ्चार प्रविधिको विकासलाई आत्मसात गरी आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्नुपर्नेलगायत व्यवस्था सिफारिस गरेको कार्कीले जानकारी गराए । रासस
प्रकाशित मिति:
June 02, 2014