तीन दल दिनभर छलफलमा, समयसिमा भित्रै सहमती गर्ने दाबी
काठमाडौँ, २६ असोज । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) दिनभर छलफलमा व्यस्त भएका छन् ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा संविधान निर्माणमा सहमति हुन बाँकी विषयमा गम्भीर छलफल सुरु भएको छ ।
संविधान निर्माणमा देखिएका असहमतिका विषयमा तोकिएको समयमै सहमति खोज्न प्रमुख तीन दल बिहानैदेखि छलफलमा जुटेका हुन् ।
बैठकमा सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा गम्भीर छलफल सुरु भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।
उपरोक्त विषयमा सबै दलका आफ्ना धारणा राख्नुका साथै सहमतिको मिलनबिन्दु खोज्ने विषयमा विभिन्न दृष्टिकोणबाट छलफल सुरु भएको उपसभापति पौडेलले जानकारी दिए ।
नेताहरुले तोकिएकै समयसिमा भित्र सहमति खोज्ने बताएका छन् ।
प्रकाशित मिति:
October 12, 2014