सर्वसत्तावादी महत्वकांक्षाले पार्टी फुट्यो : बादल
मंसिर १४ । नेकपा-माओवादीका महासचिव राम बहादुर थापा 'बादल'ले केही व्यक्तिमा पलाएको सर्वसत्तावादी महत्वकांक्षाका कारण पार्टी फुटेको बताएका छन् ।
पार्टी फुटाउनेहरुमा अराजकतावाद, व्यक्तिवाद, सर्वसत्तावाद देखिएको भन्दै नेतृत्वका हिसाबले सबै कुरा आफूमा निहित गर्नुपर्ने महत्वकांक्षाले पार्टी फुटाएको उनको भनाई छ । अहिलेको फुटलाई उनले पार्टी शुद्धिकरणको संज्ञा समेत दिए । चरित्रहिन र अराजकतावादीहरु कुचोले बढारिएको उनको भनाई छ ।
नेवाः राज्य समिति स्तरीय कार्यकर्तालाई कुपण्डोलस्थित नेवाः कार्यालयमा प्रशिक्षण दिने क्रममा बादलले अहिलेको फुटको पछाडी सारमा दक्षिणपन्थी प्रवृत्ति हाबी भएको जिकिर समेत गरे । भाग्ने वा आत्मसर्पण गर्ने शिघ्र विजयको सोचबाट विप्लवहरु अगाडी बढेको दाबी गर्दै उनले भने- 'उनी (विप्लव) हरु अहिले क्रान्तिकारीको भेषमा देखिएपनि पछि दक्षिणपन्थी देखिने छन् ।'
'सबै युद्ध क्रान्तिकारी हुँदैनन्, डाँकाले पनि हतियार उठाउँदा ज्यान गुमाउँछ त्यो शहिद हुँदैन' उनले भने- 'पछिको बाटो के हो भनेर सोध्दा सत्ता साझेदारी भन्नुको पछाडी दक्षिणपन्थी भन्दा अरु केही हुनै सक्दैन ।' क्रान्तिलाई खेलाची ठानेको भन्दै उनले दिमागमा आएको उटपट्यांगकै भरमा हतियार उठाए सिद्धिने सुझाव समेत दिएका छन् ।
उनले विप्लवहरुको अहिलेको कार्यशैलीप्रति गम्भीर शंका समेत गरेका छन् । कि त केटाकेटीपनका कारण उनीहरुले अहिलेको गतिविधि गरिरहेको हुनुपर्ने अथवा कसैले प्रायोजित गरेर यस्ता गतिविधि अगाडी बढाएको हुनुपर्ने उनको ठम्याई छ ।
बादलले संविधानसभाको विघटन गरी राजनीतिक सभा गरेर निकास खोज्न र राष्ट्रिय सरकार गठन गरी समस्या समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
संविधानको अन्तरवस्तुसहितको नयाँ नेपालको खाका पार्टीले अघि ल्याउने लागेको पनि महासचिव बादलले जानकारी दिएको पनि प्रशिक्षणमा सहभागी एक नेताले हेलोखबरलाई जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य कुल बहादुर केसी सोनामले फेसबुकमा स्टाटस लेखेर मनोञ्जन गरेजस्तो क्रान्ति नहुने भन्दै लडेको नेताले यो कुरा बुझ्नुपर्ने बताए । माघमा महाधिवेशन हुन्छ कुरौं भन्दा त्यतिसम्म कुर्न नसक्ने नेताले क्रान्तिमा १०/ २० वर्ष कुर्नुपरे कसरी कुर्लान भनेर उनले आश्चर्य समेत व्यक्ति गरे ।
पार्टी फुटलाई उनले वाम फुटको दक्षिणपन्थी प्रवृत्ती र विसर्जनको संज्ञा दिँदै घुमी फिरी विप्लवहरु बुद्धनगर नै आईपुग्ने जिकिर समेत गरे ।
प्रकाशित मिति:
November 30, 2014