त्रिविद्धारा विद्यार्थीको गोपनियताको ठाडो उल्लंघन
मंसिर ५ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको गोपनियतामाथि खेलवाड गरेको छ । त्रिविले विद्यार्थीहरुको नजिता प्रकाशनमा सम्पूर्ण विवरण खुलाएर विद्यार्थीहरुको गोपनियता भंग गरिदिएको हो ।
त्रिविले बिहीबार मास्टर पहिलो सेमेस्टार अन्तर्गत विभिन्न विषयको नजिता सार्वजनिक गरेको थियो । जसमा त्रिविले विद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर, सिम्बल नम्बरका साथै प्राप्त सम्पूर्ण पूर्णांक नै सार्वजनिक रुपमा प्रकाशित गरिदिएको छ ।
यसअघि त्रिविले पास हुनेको सिम्बल नम्बर मात्रै प्रकाशन गर्ने गरेको थियो । तर, यसै वर्षदेखि सुरु भएको सेमेस्टारमा भने फेल हुने विद्यार्थीहरुको समेत सम्पूर्ण प्राप्त नजिता विवरण नै प्रकाशित गरेर त्रिविले विद्यार्थीको गोपनियताको अधिकार नै हनन् गरिदिएको हो ।
यसरी गोपनियता अधिकारको ख्याल नै नगरी फेल हुने विद्यार्थी तथा कम नम्बर ल्याउनेहरुको समेत त्रिविले सार्वजनिक रुपमा नै बेइजत गरिदिएको छ ।
त्रिविले यसरी आफ्नो सम्पूर्ण विवरण नै सार्वजनिक रुपमा प्रकाशित गरेकोप्रति विद्यार्थीहरु सन्तुष्ट छैनन् । पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थीले त्रिविले सार्वजनिक रुपमा सबै विवरण प्रकाशित गरेर आफ्नो गोपनियताको अधिकार नै हनन् गरेको बताए ।
भर्खरै प्रकाशित नजिता उत्तिर्ण भएका अर्का एक विद्यार्थीले पनि त्रिविले नजिता निकाल्नुमा त्रुटी रहेको औल्याए । 'उत्तीर्ण हुनेलाई त ठिकै होला', उनले भने, तर फेल हुनेहरुको पनि नाम रजिष्टेशन नम्बर, सिम्बल नम्बर, प्राप्त सबै नम्बर समेत सार्वजनिक गरेर उनीहरुलाई त्रिविले होच्याउनेमा लागे जस्तो देखिन्छ ।' विद्यार्थीको नतिजामा गोपनियता अधिकार हनन् गर्न नहुने उनको तर्क छ ।
अर्का एक विद्यार्थीले त त्रिविप्रति आक्रोश पोख्दै विद्यार्थीको गोपनियताप्रति त्रिविले अलिकति पनि ख्याल नगरी खेलवाड गरेको बताए । 'यसरी सम्पूर्ण विवरणसहितको नतिजा प्रकाशन गर्नु र मार्टसिटको फोटोकपी भित्तामा टासिदिनु उस्तै हो, त्यसै गरे भई गो नि त्रिविले' उनले भने- 'त्रिविले यसरी हाम्रो गोपनियता भंग गरेर खिल्ली उडाउँछ भन्ने त सोचेको पनि थिइन ।'
प्रकाशित मिति:
November 21, 2014