चीनले भन्यो- 'सार्कको सदस्य राष्ट्र बन्न चाहन्छौं'
काठमाडौं- विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बन्ने चाहना पुनः प्रकट गरेको छ ।
सार्क शिखर सम्मेलन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नौमध्ये एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले भने, 'पहिलेदेखि नै चीन सार्कमा सदस्य रहन इच्छुक छ ।' चीनले सार्कसँग सहकार्य गरिरहेकाले अझ नजिक रहेर काम गर्न चाहेको स्पष्ट पारेको छ ।
उपविदेशमन्त्री झेनमेनले कुटनीतिक भाषामा भने, 'सदस्य नभए पनि हामी अझ बढी नजिक भएर काम गर्न चाहन्छौं ।' उपमन्त्री झेनमेन बोलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ध्यानपूर्वक सुनिरहेका थिए । चीनको भूमिकालाई लिएर सार्कका सदस्य राष्ट्रबीच चर्चा भइरहँदा सबैभन्दा बढी भारतले त्यसलाई अवलोकन गरिरहेको छ ।
चीनले सार्कको विकासमा फेरि ५५ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय लिएको उपविदेशमन्त्री झेनमेनले मन्तव्यमा उल्लेख गरे । उनले चीनले सधैं सार्कको शान्ति र अन्य क्षेत्रमा काम गर्न चाहेको बताए । सार्कको अध्ययन, स्वास्थ्य तथा पूर्वाधार विकास क्षेत्रमा ५ वर्षसम्म दिएको सहयोग आँकडासमेत प्रस्तुत गरेर उनले चीनले गरेको सहकार्यको महत्त्व देखाउन खोजेका थिए ।
राष्ट्रपति सी जिनपिङले यसै वर्ष माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरेको जानकारी दिँदै झेनमेनले चीन यस क्षेत्रको महत्त्वमा प्रस्ट भएको बताए । चीनले सार्क र आफूलाई जोड्ने मात्र होइन, पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन 'आसियान'सँगको सम्बन्धलाई ख्याल गरेर भारत, बंगलादेश, म्यानमार र चीन जोड्ने 'सिल्क रोड' का लागि ४० विलियन अमेरिकी डलर नवस्थापित एसियाली पूर्वाधार विकास बैंकमार्फत लगानी घोषणा गरिसकेको छ । अन्य पर्यवेक्षकले गरिबी निवारण र आतंकवाद नियन्त्रणमा सार्क राष्ट्रहरूले सहकार्य गरिरहेको बताएको खबर कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति:
November 27, 2014