शिखर सम्मेलन समापनमा जे देखियो...!
कालिका खड्का/सिबी अधिकारी
काठमाडौँ, १२ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औंँ शिखर सम्मेलनको उद्घाटनसत्र झैंँ समापनसत्र पनि विविध रोचक प्रसङ्गका साथ सम्पन्न भएको छ ।
आकर्षक बनाइएको राष्ट्रिय सभागृहमा आठै सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको प्रवेश र बाहिरिएका दृश्य जति हेर्नलायक थियो, समयअनुसार त्यसलाई व्यवस्थापन र सुरक्षित बनाउनु आयोजक मुलुकलाई उत्तिकै चुनौतीपूर्ण थियो ।
समग्र सम्मेलनलाई नै विशेष स्मरणीय बनाउने गरी समापनसत्रमा भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हात मिलाएपछि उत्साहको वातावरण पैदा भयो । सम्मेलनको सुरुआतदेखि नै मोदी र सरिफबीचको सम्बन्ध मित्रवत् हुन्छ कि हुँदैन भनेर उत्सुकतापूर्वक हेरिएको थियो ।
सम्मेलनको दोस्रो दिन आज बिहान काभ्रेको धुलिखेलमा भएको विश्रामका अवसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएको भन्ने समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो । दुई देशका प्रधानमन्त्रीको मिलनलाई लिएर सार्क सदस्य राष्ट्र मात्र नभई पर्यवेक्षक राष्ट्रले पनि उत्तिकै चासो लिएका थिए ।
समापनका अवसरमा भने दुई देशका प्रधानमन्त्रीले हात मिलाउनाका साथै आपसमा निकै सौहार्द्रपूर्वक भलाकुसारी पनि गर्नुभयो । मोदीले त्यतिबेला सरिफको काँधमा थुम्थुम्याउँदा सभाकक्ष ताली र खुसीका स्वरले गुञ्जायमान भयो । समापनको सो दृश्यले आठै सदस्य राष्ट्रबीच एकापसमा भाइचारा, मेलमिलाप र सद्भावका साथ सम्मेलन सम्पन्न भएको स्पष्टै भयो ।
समापनमा कसको कति सम्बोधन
समापन समारोह निर्धारित समयभन्दा झन्डै आधा घन्टा ढिला सुरु भयो । समापन समारोह औपचारिक रुपमा अपराह्न ४ बजे सुरु भएर ४ः२२ मा सम्पन्न हुने तय भए पनि समापन समारोह ४ः२८ मा नेपाली राष्ट्रिय गान बजाएर सुरु भयो ।
अठारौँ शिखर सम्मेलनको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक मिनेटपछि (४ः२९) मा समापन समारोह सुरु गर्नुभयो । सार्क ऊर्जा व्यापार सम्झौतामा आठै सदस्य राष्ट्रबीच हस्ताक्षर भयो । आगामी सम्मेलनको आयोजक राष्ट्रको हैसियतले पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्बोधन गर्नुभयो । सामूहिक तस्बिर खिंचेर करिब पाँच बजे (४ः५९) बजे सम्मेलन सम्पन्न भयो ।
सम्मेलनस्थलका दृश्य
सम्मेलनस्थल राष्ट्रिय सभागृहभित्र मुख्य मञ्चमा आठ सदस्य राष्ट्रका प्रमुख बस्ने कुर्सी राखिएको थियो । दायाँतर्फ पोडियम, देब्रेपट्टि सार्कका महासचिव अर्जुनबहादुर थापा, मुख्य मञ्चको दायाँबायाँ सार्कसहित आठ सदस्य राष्ट्रका रङ्गीचङ्गी झन्डा राखिएका थिए ।
मञ्चको अगाडि नेपालका दुई झन्डा राखिएका थिए । त्यसका माथि सार्कको ठूलो प्रतीकचिह्न थियो भने त्यसका माथि ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नारा लेखिएको थियो । मुख्य मञ्चलाई रङ्गीचङ्गी फूलमालाले सजाएर निकै आकर्षण बनाइएको थियो ।
मञ्चको दायाँपट्टि मञ्चमा पर्यवेक्षक बस्ने स्थान थियो । मञ्चको अगाडि आठ सदस्य राष्ट्रका विदेशमन्त्रीको आसनस्थान थियो । त्यसमाथि विभिन्न देशबाट आएका प्रतिनिधि र अगाडिको देब्रे स्थानमा प्रथम महिला बस्नुभएको थियो भने त्यसभन्दा माथिल्लो स्थानमा सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दहाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी रहनुभएको थियो ।
सबैभन्दा माथि दलका नेता, पूर्व मन्त्रीलगायतले आसन गर्नुभएको थियो । सम्मेलन चलिरहेका समयमा चराचुरुङ्गीको आवाजले सम्मेलनस्थललाई सुनमा सुगन्ध थपिदिएको थियो ।
अतिथिलाई स्वागत
उद्घाटन र समापन समारोह दुवै अवसरमा प्रधानमन्त्री सुशील कोइराला र प्रथम महिला सुजाता कोइरालाले सबै अतिथिलाई स्वागत गर्नुभएको थियो । सम्मेलनस्थलमा रहेको मुख्यद्वारदेखि नै सार्क सदस्य राष्ट्रका सदस्यलाई वर्णानुक्रमअनुसार अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका राष्ट्र तथा सरकार प्रमुखले आआफ्नो स्थान आसन गर्नुभयो ।
सम्मेलनस्थलको सौन्दर्य
शिखर सम्मेलनस्थल रहेको सभागृहको चोला नै फेरिएको थियो । पाहुनाका स्वागतका लागि पानीको सुन्दर फोहराले सम्मेलनस्थल निकै आकर्षक थियो । सम्मेलनको उद्घाटन र समापन समारोहमा भृकुटीमण्डप, पुतलीसडक, सिंहदरबारलगायत स्थानमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइएको थियो । त्यस समयमा यातायातको साधन र सर्वसाधारणलाई समेत सुरक्षाका कारण आवतजावतमा रोक लगाइएको थियो ।
सार्क राष्ट्रध्यक्ष/सरकार प्रमुखका व्यस्तता
बिहानदेखि नै सार्क सदस्य राष्ट्रका राष्टा«ध्यक्ष÷सरकार प्रमुख बिहान ८ बजे सोल्टी होटलबाट विशेष सुरक्षाका साथ अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको विशेष हेलिकप्टरबाट विश्रामका लागि काभ्रेपलाञ्चोकको धुलिखेल जानुभएको थियो ।
बिहान ९ः१५ मा प्रधानमन्त्री कोइराला र १०ः१५ मा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख धुलिखेल पुगिसक्नुभएको थियो । त्यहाँ उहाँहरू करिब साढे चार घन्टा रहनुभयो । त्यसपछि आठै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकारप्रमुख सोल्टी होटलमा पुगेर केही समय आराम गरी समापनस्थलमा अपराह्न ३ः४० देखि ४ः२१ बजेसम्म पुग्नुभएको थियो ।
समापनका अवसरमा सबैभन्दा पहिला भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र पाकिस्तानका प्रधानमन्त्री सरिफ सम्मेलनस्थल पुग्नुभएको थियो । त्यसपछि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन गैयम र सबैभन्दा अन्तिममा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्ष ४ः२१ बजे पुग्नुभएको थियो ।
प्रथम महिला भक्तपुरमा
सदस्य राष्ट्रबाट सम्मेलनका अवसरमा आउनुभएका प्रथम महिलाहरूको अगुवाइ नेपालका प्रथम महिला कोइरालाले गर्नुभएको थियो । आज उहाँहरू सांस्कृतिक सहर भक्तपुर पुग्नुभएको थियो ।
सामूहिक छायाङ्कन
समापनका अवसरमा सम्मेलनस्थल आउने सबै राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रथम महिला कोइरालाले अन्य सात राष्ट्रका प्रमुखसँग छुट्टाछुट्टै तस्बिर लिनुभयो ।
सम्मेलनको उद्घाटन र समापनका दुवै अवसरमा आठै राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू सामूहिक तस्बिर खिँचेर हातमा हात मिलाउँदै सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा हुने १९औँ सार्क सम्मेलनमा भेट्ने वाचा गर्दै छुट्टिनुभयो । रासस
प्रकाशित मिति:
November 28, 2014