युटिएलका मजदुर आन्दोलनमा, सबै सेवा ठप्प पार्ने चेतावनी
पुस । नेपालको नीजि दुरसञ्चार निकायक कम्पनी युनाइटेड टेलिकम्युनिकेशन लिमिटेड (युटिएल) का कर्मचारी आन्दोलित बनेका छन् । सेवा सुविधा लगायत श्रम ऐनको कार्यान्वयन गराउन माग गर्दै अधिकांश बदी कर्मचारी आन्दोलित भएका हुन् ।

अखिल नेपाल सघ संस्था तथा बैंक वित्तिय श्रमिक संघको अगुवाईमा कम्पनीमा कार्यरत कर्मचारीहरुले व्यवस्थापन पक्षसँग १४ बुँदे माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार कर्मचारीले हातमा कालो पट्टि बाँधेर काम थालिसकेका छन् । उनीहरुले माग पूरा गर्न सुरुमा सांकेतिक रुपमा आन्दोलन गर्दा पनि व्यवस्थापनले मागको सुनुवाई नगरे २२ र २३ गते कार्यालयका सबै काम ठप्प पारेर धर्ना बस्ने चेतावनी दिएका छन् । र पनि आफ्ना मागको सम्बोधन नगरिए त्यसपछिका आन्दोलनका कार्यक्रम चर्काइने संघका इकाई अध्यक्ष विकास कुमार झाले जानकारी दिए ।
युटिएल बहुराष्टिय कम्पनी रहेपनि त्यहाँ ८ घण्टा काम गर्ने कतिपय कर्मचारीलाई ५ हजार मात्रैमा पनि काम गराईने गरेको पाइएको छ । युटिएलमा भारतलको ८० प्रतिशत भारतीय लगानी रहेको छ ।
युटिएलमा भारतको महानगर टेलिकम्युनिकेशन निगम लिमिटेड (एमटिएनएल) को २६.६८ प्रतिशत, टाटा कम्युनिकेशन लिमिटेडको २६.६६ प्रतिशत, टेलि कम्युनिकेशन कन्ट्रक्सन इन्डिया लिमिटेड (टिसिआइएल) को २६.६६ प्रतिशत र नेपाली कम्पनी नेपाल भर्सिअर प्रा.लि (एनभिपिएल) को २० प्रतिशत लगानी रहेको छ ।
जसमध्ये टिसिआईएल भारत सरकारको पूर्ण स्वामित्व रहेको कम्पनी हो, त्यस्तै, एमटिएनएलमा भारत सरकारको ५४ प्रतिशत स्वामित्व छ भने टाटामा भारतीय सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यता, नेपाली कम्पनी एनभिपिएलमा एमाले पूर्वसभाषद समेत रहेका एमाले नेता रघुवीर महासेठको लगानी रहेको पाइएको छ ।
यद्यपी, युटिएलमा भने कतिपय कर्मचारीलाई ८ ३ण्टा काम लगाएर पाँच हजार मात्र दिने गरेको देखिएको छ । भारतीय पक्षको दबाबमा श्रम ऐन लागू नगरेको भन्दै मजदुरहरु आक्रोशित बन्न पुगेका हुन् ।
यसअघिदेखि नै युटिएलले नेपाल सरकारलाई कर नतिर्दा विवादमा पर्दै आएको छ । पछिल्लो पटक भने कर्मचारीलाई ऐन अनुसार उचित सेवा सुविधा नदिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
प्रकाशित मिति:
January 01, 2015