ग्याँसको आपूर्ति एक साताभित्र सहज हुने
काठमाडौँ, १८ पुस । आम उपभोक्ताले दैनिक प्रयोग गर्ने ग्याँसको आपूर्ति एक साताभित्र सहज हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग र नेपाल आयल निगमलगायत पदाधिकारीसँग छलफल गर्दा एक साताभित्र सहज गराउने सम्बन्धित निकायले प्रतिबद्धता जनाएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्याँस तथा पेट्रोलियम पदार्थको चरम अभावका कारण उपभोक्ताले कठिनाइ भोग्नु परिरहेकाप्रति आयोगमा परेको उजुरीको सम्बन्धमा आयोगको ध्यानाकर्षण जनाउँदै सो छलफल गरेको हो ।
विज्ञप्तिमा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति एवम् वितरण नियमित गर्न तत्काल अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने एवम् उपभोक्ता हित प्रतिकूल हुनेगरी आपूर्तिमा व्यवधान खडा गर्नेउपर कानुनबमोजिम कारबाही गर्ने र ग्याँसलगायत पेट्रोलियम पदार्थको बजारमा देखिएको अभाव सम्बन्धमा आपूर्ति वितरणको वास्तविक अवस्थाबारे सुसूचित गर्ने सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति:
January 02, 2015