भेरीमा फेरी १० दिन देखि वन्द हुदा सर्वसाधारण मर्कामा
जाजरकोट २० पुस । गत १० दिन देखि भेरी नदीमा चल्ने फेरी विग्रेपछि छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने सर्वसाधारणलाइ सास्ती भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि १० वर्ष देखि निर्माण कार्यमा ढिलाइ भएर अलपत्र जस्ते रहेको भेरी पुलको निरीक्षण गर्न गएकै दिन पुस १० गते विग्रिएको फेरी अहिले सम्म पनि वनेको छैन ।
पुल निर्माणको विषयलाइ लिएर जाजरकोटवासीले चर्काे विरोध गरेपछि पुल निर्माणको अवस्था अनुगमन गर्न मन्त्री निधी सहितको टोली राकम पुगेको थियो । संयोगले मन्त्री निधी पुगेकै दिन फेरी विग्रीएको थियो ।
लामो समय फेरी नचल्दा यात्रामा ढिलो हुनुका साथै वालवालिका वृद्धवृद्धा र असाहयहरुलाई कष्ट हुने गरेको छ । छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको सल्लीवजार र सुर्खेतको राकममा मोटरेवल पुलको विकल्पमा चल्दै आएको फेरी विग्रेको १० दिन विति सक्दा पनि मर्मत नहुदा स्थानीयलाइ मर्का परेको हो ।
विगत १८ वर्ष देखि पुलको विकल्पमा भेरी नदीमा सवारी साधनहरु वारपार गराउनका लागि सन्चालित फेरी सन्चालनका लागि चलाइने जेनेरेटरको इन्जीन विग्रीएका कारण १० दिन देखि फेरी वन्द भएको हो । फेरी नचल्दा विशेष गरि जाजरकोट सुर्खेत र सल्यानका सर्वसाधारणले सास्ती पाएका छन् ।
गत १० वर्ष देखि उक्त स्थानमा निर्माण कार्य थालिएको भेरी पुल सरकारी वेवास्ताका कारण वेवारिसे जस्तै वनेपछि स्थानीयहरु सडक यात्राका लागि फेरीको भरमा नदी वारपार गर्दै आएका छन् । वर्षातका कारण जेठ देखि पुस सम्म ७ महिना वन्द हुने उक्त फेरी अन्य वेला ५ महिना पनि नियमित रुपमा नचल्दा स्थानीयहरुलाई मर्का हुने गरेको छ ।
फेरी सन्चालक चन्द्रवहादुर थापाले एक हप्ता अघि फेरी चलाउने मेसिन मर्मतका लागि सुर्खेत लिएर गएको र अझै नफर्केका कारण समस्या परेको इलाका प्रहरी कार्यालय राकम सुर्खेतका इन्चार्ज प्रहरी नायव निरीक्षक नरेन्द्र विक्रम शाहीले वताए । उनले फेरी नचलेका कारण स्थानीयहरु राकम देखि सल्ली सम्म पैदल यात्रा गर्न वाध्य भएको वताए ।
राकम पुगेका वेला मन्त्री निधीले आगामी असार मसान्त भित्र पुल निर्माणको काम सक्ने प्रतिवद्धता जनाएका थिए । उनको प्रतिवद्धता पछि पुल निर्माणको काम तिव्र गतिमा भइरहेको स्थानीयहरु वताउछन् ।
आव २०६१ देखि दुइ वर्ष भित्र निर्माण कार्य सक्ने भनेर सुरु गरिएको उक्त पुल ठेकेदार र सरकारी निकायको जुहारीका कारण अलपत्र परेको थियो । राकममा मन्त्री निधीलाई जाजरकोटवासीले यो वर्ष पुल नवने आफुहरु अप्रिय कदम चाल्न वाध्य हुने भन्दै असार भित्र पुल वनाउने प्रतिवद्धता गर्न दवाव दिएका थिए ।
मन्त्री निधिले पनि पुल निर्माणको विषय आफनो प्रतिष्ठा संग जोडिएको भन्दै कुनै पनि हालतमा असारमा पुल निर्माण गरेरै छोड्ने वताए । अहिले पुलको चौथो पिलर वेलिंग गरेर धसाउने काम भइरहेको सडक विभागले जनाएको छ । पुल निर्माणको जिम्मा निर्माण व्यावसायी महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले लिएका छन् ।
प्रकाशित मिति:
January 04, 2015