बाबुराम, कमल थापा, केपी ओली पनि वर्षका उत्कृष्ट सभाषद
विश्वभरि छरिएर रहेका मानिसद्वारा गरिएको मतदानअनुसार नेपाली काँग्रेसका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी र गगनकुमार थापा नेकपा (एमाले)का रवीन्द्र अधिकारी, गोकर्ण विष्ट, केपी शर्मा ओली र विकास लम्साल एकीकृत नेकपा (माओवादी) का डा बाबुराम भट्टराई, राप्रपा नेपालका कमल थापा र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी उत्कृष्टमा छानिएका छन् । न्युज भित्ता डट कम’मार्फत उक्त अनलाइन सर्भे गरिएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा काँग्रेसका नेता केसीले न्युज भित्ताले नौलो काम गरेको भन्दै सहमतिका आधारमा संविधान बनाउनुपर्ने बताए ।
एमालेका नेता अधिकारीले संसद् प्रभावकारी हुनका लागि खराब राजनीतिको ठाउँमा असल राजनीति पात्रको खोज भइरहेको जनाए ।
राप्रपा नेपालका अध्यक्ष थापाले संविधानसभाको नियमावली हेरेर सके सहमति नभए जनमतसङ्ग्रहमार्फत भए पनि देशलाई समाधान दिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चार पाँच जनाले बालुवाटारमा बसेर निष्कर्ष ननिस्कने बताउँदै संविधान बनाउन प्रक्रियामा जानको विकल्प नभएको उल्लेख गरे ।
कार्यक्रममा सभासद् थापा, भण्डारी, लम्साल र विष्टले आफूहरुलाई छान्ने मतदातालाई धन्यवाद दिए ।
उत्कृष्ट १० सभासद् छनोट समितिमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, ‘नागरिक दैनिक’पत्रिकाका प्रधान सम्पादक प्रतीक प्रधान र पत्रकार विनोद भट्टराई रहेका थिए ।
नेताहरुले निर्धारित समयमा सहमतिको संविधान जारी गर्ने नदेखिए पनि उक्त अनलाइनले भने उत्कृष्ट सभाषद छनोट गरेको हो । छनोटका आधारहरुबारे भने खुलाइएको छैन ।
प्रकाशित मिति:
January 15, 2015