जनताले ठूलो चुनौतीको सामना गरिरहेका छन् : प्रधानमन्त्री
३१ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले अहिले ठूला चुनौतीको सामना गरिरहेको बताएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त अरब इमिरेट्स (युएइ)को मश्रेक बैंक लिमिटेडले भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यका लागि प्रदान गरेको सहयोग रकम ग्रहण गर्दै सो कुरा बताएका हुन् ।
“हामीहरुले भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपहरुको सामना गरिरहेका छौँ” – प्रधानमन्त्री कोइरालाले भने – “हाम्रो दुःखमा मित्र राष्ट्र, दातृ निकाय र तपाईंहरु जस्ता उदार हृदयका मित्रहरुले दिनुभएको सहयोगले हामीलाई ठूलो भरोसा मिलेको छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल नयाँ संविधान निर्माण गरी जारी गर्ने तयारीमा रहेको उल्लेख गर्दै अब नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व हुने भएकाले लगानी गर्नका लागि आग्रह गरे ।
उनले नेपालमा जलविद्युत् उत्पादन, पूर्वाधार निर्माण, पर्यटन, कृषि र जडीबुटीका क्षेत्रमा अधिक सम्भावना रहेकाले यी क्षेत्रमा लगानीको खाँचो रहेको उल्लेख गरे ।
मश्रेक बैंकको २७ लाख ५० हजार सहयोग
भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यका लागि युएइको दुबइमा मुख्यालय रहेको मश्रेक बैंकले रु २७ लाख ५९ हजार सहयोग गरेको छ ।
बैंकका निर्देशक अनवर खुर्सिद र बैंकका नेपाल अवस्थित देशीय प्रतिनिधि हेमा अधिकारीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । ।
देशीय प्रतिनिधि अधिकारीका अनुसार नेपालमा विनाशकारी भूकम्प आएपछि नेपालस्थित कार्यालयले यसको अद्यावधिक जानकारी केन्द्रीय कार्यालयलाई गराएको थियो । बैंकले देश विदेशमा रहेका आफ्नो कार्यालयका कर्मचारीहरुको स्वेच्छिक योगदान र सहयोग अभियानबाट यो रकम सङ्कलन गरेको हो ।
कार्यक्रममा बैंकका निर्देशक अनवरले नेपालीको दुःखमा सहयोग गर्न पाएकामा सन्तोष व्यक्त गर्नुभएको थियो भने प्रधानमन्त्री कोइरालाले नेपालीलाई विपद्को समयमा सहयोग गरेकामा धन्यवाद दिएका थिए ।
जनसम्पर्क कोरियाको पाँच लाख ३६ हजार सहयोग
यसैगरी भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यमा सहयोग गर्न नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र अन्य संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ३६ हजार प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समितिका पूर्व अध्यक्षसहितका सदस्यहरुले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गरेका थिए ।
सो रकम नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली प्रवासी श्रमिक ऐक्यबद्धता केन्द्र, कोरियन भाषा अध्ययन केन्द्र र डल्लु अवस्थित फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलको सामूहिक योगदानबाट जुटेको हो ।
प्रकाशित मिति:
August 16, 2015