चीन र भारतलाई खबरदारी गर्न राष्ट्रियताको झण्डा उठाएका हौं : किरण
काठमाडौ, ३० साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार र प्रतिपक्ष दुवैको दलालीकरण प्रवृत्तिले राष्ट्रियता र जनतन्त्र तथा जनजीविकाको समस्या बढेको बताएका छन् ।
संवाद डवलीमा प्रा.डा. गोपाल शिवाकोटी र दीपेन्द्र रोकायाद्धारा लिखित पुस्तक ‘लिपुलेक नाका भ्रम र यथार्थ’ को विमोचन गर्दै उनले सो विचार ब्यक्त गरे । ‘जताततै दलाल हुनाले दलालीको पराकाष्टा नै देखिएको छ’ उनले भने, ‘प्रमाण प्रशस्तै छन्, सब छोडियो, तर संधै त्यसो हुँदैन ।’
१२ बुँदे सहमति गर्न दिल्ली जाने नेताहरुप्रति कटाक्ष गर्दै किरणले यो परम्परा तोड्न नेपालमा रहेका प्रशस्तै देशभक्तहरुलाई जगाएमा देश जोगिने दावी गरे । ‘यसका लागि निराश हुन नहुने, डराउन नहुने, निरन्तर कुटनीतिक पहल गर्ने र संगठित आन्दोलन चलाउन आवश्यक छ’ अध्यक्ष किरणले भने ।
लिपुलेक त्रिदेशीय बिन्दु नभएकाले चीन र भारतलाई खबरदारी गर्न आफुहरुले राष्ट्रियता र जनतन्त्रको झण्डा उठाइरहेको बताए । ‘यस जागरण अभियानलाई साथ दिने सामाग्री प्रकाशित गरेकोमा लेखकद्धय र प्रकाशकलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।
वरिष्ठ महिला नेतृ शान्ता श्रेष्ठले कहिल्यै उपनिवेश नभएको देशलाई भारतीय उपनिवेशजस्तो बनाउन नेपाली नेताहरुले देखाएको दलाली चरित्रको आलोचना गर्दै भनिन्, ‘भारतले पेल्नु स्वभाबिक हुन थालेको छ, त्यसको कारण नेपालीले भारतलाई लुट्न दिनु हो ।’
देशको सीमा रक्षा गर्नु ठुलो कुरा भएको बताउँदै श्रेष्ठले राष्ट्रको माया गर्नेहरुलाई अघि बढ्न आग्रह गर्दै भनिन्, ‘म बुढी भएपनि देशले चाहेको संघर्षमा अघिल्लो पंक्तिमा उभिन चाहन्छु’
यस्तै प्रा.डा. गोपाल शिवाकोटीले लिपुलेकबारे रहेका राजनैतिक, कुटनैतिक, भौगोलिक भ्रमबारे स्पष्ट पार्न उक्त पुस्तक प्रकाशन गरेको जानकारी दिए । उनले भने, ‘लिपुलेक त्रिदेशीय विन्दु हुँदै होइन ।’ उनका अनुसार यो सबै भारतका नेपाल विज्ञ भनिनेहरु, नेपालको कर्मचारी कुटनीतिज्ञहरु र यर्थाथतामा अडान नभएका नेताहरुको कारण भ्रम पार्ने काम भइरहेको छ ।
चीन र भारतबीच ४१ बुँदे सन्धी भएको ठिक २ महिनापछि पैरवी प्रकाशनद्धारा प्रकाशित उक्त पुस्तकमा कालापानीको नालीबेली, नेपालको भूमि भारत र चीनको सौदावाजी, लिपुलेकमा चासो र चिन्ता, लिपुलेकबारे चीनको धारणा, ऐतिहासिक प्रमाणहरु, जिउँदो साक्षी र लिपुलेकबारे चीनको भनी भ्रम पार्ने प्रयासका बारेमा सविस्तार गरिएको जानकारी अर्का लेखक दीपेन्द्र रोकायाले गराए । उनले तर्क थियो, ‘देश जोगाउन देशभक्तहरुलाई यथार्थता प्रबाह गरिरहनु पर्दछ ।’ पुस्तकको मुल्य १९५ रहेको छ ।
प्रकाशित मिति:
August 15, 2015