मधेसी नेताद्धारा चीनलाई दुश्मन घोषणा, खुलेखुलाम चीन विरोधी गतिविधि
कात्तिक, काठमाडौं । विभिन्न माग राखेर करिब डेढ महिनादेखि तराईमा आन्दोलन गरिरहेका मधेसी नेताहरुले उत्तरी छिमेकी राष्ट्र चीनलाई दुश्मन घोषणा गरेका छन् ।
भारतको निर्देशनमा आन्दोलन गरिरहेको आरोप समेत लाग्दै आएको अवस्थामा ती नेताले सार्वजनिक रुपमा नै चीनलाई दुश्मनको संज्ञा दिएका छन् । यसअघि पनि मधेसी दल सम्बद्ध नेता तथा कार्यकर्ताले चीनको झण्डा जलाउँदै आएका थिए ।
मधेसवादी मोर्चामा सम्बद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालसित तेल आपूर्तिको सम्झौता गरेर चीनले आफूहरुसित दुश्मनी मोलेको बताएका छन् । अनलाइन खबरसँगको कुराकानीमा महतोले अब चीन विरोधी प्रदर्शन व्यापक बनाउने समेत चेतावनी दिएका छन् ।
यसअघि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने सरकारी निर्णय नेपाली उपभोक्ताको हितमा नरहेको भन्दै चीनको विरोधमा बोलेका थिए ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का अनुसार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका थिए ।
मधेसी मोर्चा सम्वद्ध नेता कार्यकर्ताले चीनको झण्डा जलाउँदै आएपनि सरकारले भने केही पनि गर्न सकेको छैन ।
अहिलेको मधेस आन्दोलनलाई भारतको इशारामा चलेको आरोप लाग्ने गरेको छ । भारतले पनि नयाँ संविधान जारी भएलगत्तै नाकाबन्दी लगाउँदै आएको छ ।
नयाँ संविधान घोषणा हुने समयमा भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय नागरिक रहेको भन्दै उनीहरुका लागि जे पनि गर्ने चेतावनी दिएका थिए ।
प्रकाशित मिति:
October 30, 2015