विराट पेट्रोल पम्प विवादः सर्वसाधरणको ढाड सेक्ने खेल
पुस २१ काठमाडौं । पछिल्लो पटक विराट पेट्रोल पम्पको विषयमा अखबारका पानाहरु भरिरहेका छन् । कि राम्रोको चर्चा हुन्छ कि नराम्रोको भन्ने उखान झैँ विराटको चर्चा भने नराम्रै काम गरेकाले चुलिएको पाइएको छ ।
यतिसम्मकी पहुँच र शक्तिका भरमा सर्वसाधरणको ढाड नै सेक्ने गम्भीर किसिमको खेल समेत भईरहेको छ । एकातिर सरकारी स्वामित्वको आयाल निगमलाई असफल बनाउने र इन्धन मार्केट धरासायी बनाउने खेल भईरहेको छ भने अर्कातिर अहिलेको मूल्यभन्दा चार गुणा महंगोमा पेट्रोल पम्पबाट नै इन्धन विरतण गर्ने खेल समेत भईरहेको पाइएको छ ।
विवादको सुरुवात
नेपालमा संविधान बनेपछि भारतले अघोषित नाकाबन्दी गर्यो । इन्धनमा पूर्णरुपमा भारतमा भर परेको नेपाल सबैभन्दा यसैको मारमा बढी पर्यो । भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या भएपछि गत २७ असोजमा निगमले ‘दशैंमा १५ दिनका लागि इन्धन आपूर्ति गर्ने’ भन्दै सार्वजनिक आसयपत्र माग गरेको थियो । आसयपत्र पेस गर्ने २२ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य पेस गरेको विराट पेट्रोलियमले ठेक्का पायो ।
विक्लिनेपाल डटकमका अनुसार निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नीतिगत भ्रष्टचार गरेर विराट पेट्रोलियमलाई महँगोमा पेट्रोलियम पदार्थ ल्याउने अधिकार दिँदै १८ करोड रुपैयाँ निकासी समेत गरेका थिए । नयाँ पत्रिका दैनिकले हालको खरिददरभन्दा चार गुना महँगो मूल्य पेस गरेको विराटलाई प्रबन्ध निर्देशक गोपालबहादुर खड्का एक्लैले निर्णय गरी तेल ल्याउन स्वीकृति दिएको उल्लेख गर्यो ।
विराटलाई एक सय ७८ रुपैयाँमा डिजेल र एक सय ९९ रुपैयाँमा पेट्रोल ल्याउन अनुमति दिइएको थियो । यो तेल झापाको पूर्वी नाका काँकडभिट्टामा निगमले किन्ने र यसमा सबै राजस्व निगमले तिर्न‘पर्ने प्रावधान राखिएको थियो ।
आफूखुसी निजी क्षेत्रबाट इन्धन ल्याउन गरेको नीतिगत भ्रष्टाचारले उनी विवादको शिखरमा पुगे तर संसदको सार्वजनिक लेखा समितिमा समेत कुरा उठ्यो तर पहुँच र पावरका भरमा उनलाई कसैले हल्लाउन भने सकेन ।
विराटलाई ठेक्का दिँदा निगमलाई पाँच करोड १८ लाख घाटा रहेको रातोपाटीले खबर छापेको छ । निगमको निर्णय अनुसार विराटलाई मनमौजी ठेक्का दिँदा निगमलाई पाँच करोड १८ लाख घाटा लाग्नेछ भने बिनालगानी विराटलाई चार करोड एक लाख ९० हजार नाफा हुनेछ यतिमात्रै होइन ढुवानी भाडा, भ्याट र भन्सार निगमले आफैँ तिर्ने गरी विराटलाई इन्धन ल्याउने बाटो खोलिएको थियो ।
यता नागरिक दैनिकले तेल ल्याउन मनलागी ठेक्का पाएका विराट पेट्रोलियम प्रालि (विराट आयल) का अध्यक्ष अर्जुन क्षेत्री पेट्रोलियम पदार्थका भारतीय कारोबारी भएको खबर छापेको थियो ।
ठेक्का दिने को हुन् खड्का ?
विराटलाई इन्धन ठेक्का दिने निर्देशक गोपाल बहादुर खड्का भने भ्रष्टचारको आरोपमा अख्तियारले पत्र काटेका एक व्यक्ति हुन् । रातोपाटी डटकम भन्छ, एकातिर चीनबाट तेल ल्याउने सरकारी पहलमै भाँजो हाल्ने र अर्कोतर्फ निजी पेट्रोलपम्पसँग मिलेर तेलको कालो बजारी गर्ने काममा लागेको पाइएपछि कार्यकारी निर्देशक खड्का विवादमा आएका थिए ।
![]() |
गोपाल बहादुर खड्का |
सिन्धुली घर भएका खड्का ०५० देखि ०६० सालसम्म सडक विभाग थानकोट नौबिसे सडकखण्ड, नौबिसे मुग्लिङ सडक पुनर्निर्माण कार्य साथै अरनिको राजमार्ग पुनर्निर्माण कार्यमा समेत काम गरेका थिए । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख रहँदा नै उनी विभिन्न अनियमितितामा मुछिएका थिए । ०६८ मंसिरमा तत्कालीन सरकारद्वारा गठित सडक गुणस्तर छानबिन समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा सडक डिभिजन कार्यालय काठमाडौंमा प्रचलित सार्वजनिक खरिदका कानुन मिचेर करिब तीन करोड रुपैयाँ बराबरको पुँजीगत बजेट जमानतका आधारमा खड्काकै तजबिजीमा आफू निकटका ठेकदारहरूलाई दिएको उल्लेख गरिएको थियो ।
पछिल्लो पटक ग्लोबल टेन्डरमा विराटलाई छान्ने विषयमा पनि करोडौँको खेल भएको जनाइएको छ ।
उनै खड्का नेतृत्वको आयाल निगमले पछिल्लो पटक भने विवादित कम्पनी विराट पेट्रोलियमले ल्याएको तेल पेट्रोल पम्पबाटै बिक्री गर्न दिने निर्णय गरेको छ । बिक्रेता नियमावली, मौजुदा पेट्रोलियम नीति विरुद्ध यस्तो निर्णय भएको हो ।
नेपालको इन्धन बजार नै धरासायी बनाउने खेल भईरहेको र सरकारले आफ्नो स्वामित्वको आयल निगममार्फत इन्धन ल्याउन पहल गर्नुपर्नेमा विभिन्न अनियमिततामा फसी सर्वसाधरणलाई महंगोमा इन्धन किनाउने खेल भईरहेको भन्दै सरोकारवालाहरुले भने चिन्ता व्यक्त गर्न थालेका छन् ।
चोरीको डिजेल र पानीजहाजमा डढेको मोबिल बेच्ने खोजेको थियो विराटले
विराट पेट्रोले यसअघि नै नेपालमा चोरीको डिजेल र पानीजहाजमा डढेको मोबिल बेच्ने खोजेर काबारही भोगेको पाइएको छ ।
सरकारले तीन वर्षअघि ३० फागुन ०६९ मा पेट्रोलियम क्षेत्रमा आयल निगमको हैसियतमा कारोबार गर्न पाउने गरी निजी क्षेत्रको प्रवेश खुला गरेको थियो । त्यतिखेर पेट्रोलियम तथा ग्यास कारोबार (नियमन) आदेश, ०६९ जारी भएको थियो । यो खबर थाहा पाएपछि सिक्किमका पेट्रोलियम व्यापारी अर्जुन क्षेत्रीले मोरङको विराटनगरमा विराट पेट्रो केमिकल्स नामको फर्म दर्ता गरेका थिए । तीन वर्षअघि उनले आफूलाई सिक्किम क्षेत्रको पेट्रोलियम व्यापारी र नेपालमा आयल निगमजत्तिकै हैसियत राखेर पेट्रोलियम कारोबार गर्नसक्ने बताएका थिए । उनले धादिङमा रिफाइनरी नै खोल्ने योजना रहेकोसमेत बताएका थिए । र, उद्योग मन्त्रालयबाट अनुमति पनि लिएका थिए । निगमले अध्ययन गर्ने क्रममा उनले कोलकाता बन्दरगाहबाट चोरीको डिजेल र पानीजहाजमा डढेको मोबिल ल्याउन लागेको फेला पारेको थियो । डढेको मोबिलमा डिजेल मिसाउँदा कच्चा तेलजस्तै देखिने भएकाले भन्सार पास गराउन सकिने उनको योजना थियो । ‘डढेको मोबिल र डिजेललाई ‘डिस्टिलेसन मेसिन’द्वारा पुनस् छुट्याउन सकिन्छ । विराटले पनि रिफाइनरीको नाममा त्यस्तै गर्न खोजेको देखियो,’ निगम स्रोतले भन्यो, ‘मोबिल अन्यत्र प्रयोग गर्न सकिन्छ र डिजेलचाहिँ बेच्न खोजेको देखिएको थियो ।’ विराटले डिस्टिलेसन मेसिन राखेरै पेट्रोलियम पदार्थको कारोबार गर्न खोजिरहेकै वेला मुलुकभित्रकै पेट्रोलियम व्यवसायीले निजी क्षेत्रलाई तत्कालै खुला नगर्न दबाब दिएपछि सरकारले उक्त नियम आदेशलाई स्थगन गरेको थियो नयाँ पत्रिकामा खबर छ । त्यसयता विराटले पनि कारोबार गर्न पाएको छैन ।
प्रकाशित मिति:
January 05, 2016