काठमाडौँ, २० असार । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषदमा महिलाको सहभागिता एक तिहाइ पुर्याउन माग गरेको छ ।
सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाउँदै निकट भविष्यमा विस्तार हुने मन्त्रिमण्डलमा संविधानको भावना र मर्मबमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको हो ।
संवैधानिक आयोग, कूटनीतिक निकाय र अन्य सरकारी निकायमा न्यूनतम ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको सञ्जालका महासचिव यशोदा सुवेदीले जानकारी दिए ।
सञ्जालले नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिन सकिने व्यवस्था गर्न, न्यायिक समितिमा व्यवस्था भएको तीनजना सदस्यमध्ये एकजना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।
Powered by Blogger.
मन्त्रिपरिषदमा महिलाको सहभागिता एक तिहाइ पुर्याउन माग
प्रकाशित मिति:
July 04, 2017