माओवादी बैठक लम्बियो, प्रचण्ड भन्छन्– ‘हारको दोष जनतालाई दिन पाइदैन’
सत्तारुढ नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जसहित सचिवालय सदस्यहरुको जारी विस्तारित बैठक लम्बिएको छ । बुधबारसम्म सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएपछि लम्बिन पुगेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको तेस्रो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गरेका छन् ।
समीक्षाका क्रममा नेताहरुले बलियो संगठन नभएका कारण नै निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभएको रिपोर्ट प्रस्तुत गर्दै नेताहरु जनतासमक्ष पुग्नुपर्ने तथा पार्टी पूनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
बुधबारको बैठकमा महादेव यादव, जगत यादव, किशन शर्मा, भानुप्रकाश श्रेष्ठ, अग्निप्रसाद सापकोटा, हितराज पाण्डे, हकिकुल्लाह खाँ, श्रवणकुमार यादव, विष्णुपुकार श्रेष्ठ, गणेशमान पुन, डाचाराज वाग्ले, खिलप्रसाद बुढाथोकी, सुदन राई, बाबुराम गौतम, लिलामणि पोखरेल, रेखा शर्मा, बसन्त घर्ति र तिलक परियार गरी १८ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका छन् । सचिवालय बैठक बिहीबार पुनः बस्नेछ ।
जनतालाई दोष दिएर उन्मुक्ति पाइदैन : दाहाल
पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताएका छन् ।
ललितपुरको थासीखेलमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले निर्वाचनमा अपेक्षित सफलता हासिल नसकेको भन्दै त्यसको दोष जनतालाई दिएर उन्मुक्ति नपाउने बताए । उनले भने– ‘हामीले जनतालाई किन बुझाउन सकेनौं ? किन राम्रो संगठन बनाउन सकेनौं ? किन जनताको विश्वास जित्न सकेनौं ? त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।’
कार्यक्रममा दाहालले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताएका थिए । ‘जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन्’ कार्यक्रममा उनले भने ‘अब सबै माओवादी एक हुनुको बिकल्प छैन ।’
प्रकाशित मिति:
July 19, 2017