प्रधानमन्त्रीपत्नी विरुद्ध नेविसंघका नेताको बागी उम्मेदवारी
काठमाडौं १७ कात्तिक
आरजु |
आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा बागी उम्मेदवारको बिगबिगी नै परेको छ । प्रधानमन्त्रीपत्नी आरजु देउवाविरुद्ध समेत उनकै पार्टी कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् ।
४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५५ निर्वाचन क्षेत्रका लागि बिहीबार भएको मनोनयनमा कतिपय दलका शिर्ष नेताकै विरुद्ध समेत बागी उम्मेदवारी परेको छ । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै विभिन्न दलका आधिकारिक उम्मेदवार विरुद्ध सोही दलका असन्तुष्ट नेताहरुको बागी उम्मेदवारी परेको हो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवारी परेको छ । यस्तै, राजपा अध्यक्ष मडण्लका सदस्य अनिल झा र माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवारी परेको छ ।
प्रधानमन्त्रीपत्नीकाविरुद्ध भण्डारी, पौडेलविरुद्ध जोशी
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका छन् । तनहुँ १ बाट २०४८ साल र तनहुँ २ बाट २०५१, २०५६, २०६४ र २०७० सालको निर्वाचनमा लगतार नेता पौडलले चुनाव जित्दै आएका थिए । यता, निर्वाचन क्षेत्र नम्बर २ बाट नेता जोशी २०४८ साल, २०५१, २०५४ सालमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए भने २०६४ सालमा माओवादी केन्द्रका उम्मेदवार सुरेश आलेसँग पराजित बनेका थिए । आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले टिकट नपाएपछि नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
कास्की २ को ख मा कांग्रेस नेता नरेशशंकर पालिखेले आधिकारिक उम्मेदवार बिन्दुकुमार थापाविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
रुपन्देही ३ को क मा पनि कांग्रेसका ओमकुमार श्रेष्ठले आधिकारिक उम्मेदवार देवीराम चौधरीविरुद्ध उम्मेदवारी दिएका छन् । दैलेखमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका राप्रपा उम्मेदवार दिपक शाहीविरुद्ध कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशवहादुर खड्का बागी उम्मेदवार दिएका छन् भने कांग्रेस नेता नरसिंह मल्ल प्रदेशसभाको बागी उम्मेदवार बनेका छन् ।
कैलाली ५ मा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाबिरूद्ध नेपाल बिद्यार्थी संघका नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीपत्नी विरुद्ध बागी उम्मेदवारी परेको हो ।
नेपालका विरुद्ध पनि बागी, बिना विभागियमन्त्रीका विरुद्ध पूर्व सांसद
वाम गठबन्धनका काठमाडौं क्षेत्र नम्बर दुईका उम्मेदवार नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल विरुद्ध पनि बागी उम्मेदवारी परेको छ । उनका विरुद्ध एमाले कार्यकर्ता एलपी श्रेष्ठले बागी उम्मेदवारी दिएका हुन् ।
यता, नेकपा माओवादी केन्द्रका नेताले सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्य विरुद्ध माओवादीका संस्थापक नेताहरुले नै वागी उम्मेदवारी दर्ता गराए ।
प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेत विरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका सस्थापक नेता तथा पार्टी पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश (क) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश (ख)बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध माओवादीका पूर्व कमाण्डर जीतबहादुर पुनले उम्मेद्वारी दिएका छन् ।
सिन्धुलीमा माओवादी नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।
यसैगरी, सिन्धुली १ को क मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलवहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
महिना दिनअघि मात्र एमाले प्रवेश गरेकी गायिका कामेल ओली एमाले उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेकी छिन् । राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेकी ओलीले दाङ क्षेत्र नम्बर ३ का आधिकारिक उम्मेदवार हिराचन्द्र केसीविरुद्धद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरिन् ।
प्रकाशित मिति:
November 03, 2017