प्रा डा केसीले दिए सर्वोच्च अदालतमा बयान
पौष २५ काठमाडौँ
अवहेलना मुद्दामा पक्राउ परेका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग सर्वोच्च अदालतले आज बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो ।
बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै छन् ।
बयानका क्रममा प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे ।
प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका छन् । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
प्रकाशित मिति:
January 09, 2018