साउन २७ – यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण आज दोस्रो पनि आफ्नै नीजि सवारी साधन नहुने सर्वसाधरण मर्कामा परेका छन् ।
व्यवसायी र सरकारबीच दुई चरणमा भएका वार्ताले सार्थकता पाउन नसकेका कारण आज पनि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
तर नीजि सवारी साधन हुनेहरुलाई भने बन्दको प्रभाव परेको छैन ।
सरकारी प्रतिनिधि र यातायात व्यवसायी तथा मजदुरबीच बिहीबार र शुक्रबार भएका वार्ता असफल भएपछि आज उपत्यकालगायत मुलुकभर सार्वजनिक यातायात नचल्दा यात्रुहरुले सास्ती बेहोर्नुपरेको हो ।
भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा हिजो भएको वार्तामा सरकार आफूहरुको मागबारे स्पष्ट हुन नसक्दा सहमति हुन नसकेको जानकारी दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डोलनाथ खनालले सरकार आफूहरुको मागबारे गम्भीर नभएसम्म सार्वजनिक यातायात ठप्प पारिने चेतावनी समेत दिएका छन् ।
यातायात व्यवसायी र मजदुरहरुले ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको थप अधिकार खारेज गर्नुपर्ने, ट्राफिक जरिवानामा कमिसनसम्बन्धी निर्णय खारेज गर्नुपर्ने, यातायात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन हुनुपर्ने, यातायात क्षेत्रलाई उद्योगका रुपमा लिइनुपर्ने, बीमा नीति व्यवहारिक बनाइनुपर्नेलगायतका माग राखी शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् ।
अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले संयुक्तरुपमा विभिन्न १५ सुत्रीय माग राख्दै चरणबद्ध आन्दोलनका क्रममा अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका थिए ।
सरकार र यातायात व्यवसायीबीच दुई चरणमा वार्ता भए पनि अर्को वार्ता कहिले हुने भन्ने निश्चित भएको छैन ।