बाबुरामलाई एक्लाउँदै, सरकारबाट बाहिरिए भूमी सुधार मन्त्री
असोज २ – राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने भन्दै विपक्षीहरुले अडान कसीरहेकै बेला भूमिसुधार मन्त्रीले भने सहमतिको वातावरण बनाउन भन्दै मन्त्री पद छाडेका छन् ।
भूमि सुधारमन्त्री चन्द्रदेव जोशीले राजनीतिक निकासका लागि सहज वातावरण बनाउन भन्दै आज वर्तमान भट्टराई नेतृत्वको सरकारबाट बाहिरिएका हुन् ।
उनले सरकार छाड्ने क्रममा राजनीतिक सहमतिका लागि सरकारमा गएपनि प्रधानमन्त्रीले त्यसका लागि कुनै पहल नगरेको समेत उल्लेख गरेका छन् ।
नेकपा संयुक्तका अध्यक्ष समेत रहेका उनले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएसँगै वर्तमान सरकारलाई केही दबाब भने थपिने देखिन्छ ।
प्रधानमन्त्री भट्टराईले मन्त्री परिषद विस्तार गर्ने क्रममा दोस्रो पटक एमाले सहित साना दलका मन्त्री थप्दा उनी पनि भूमिसुधार मन्त्रीमा नियुक्त भएका थिए ।
तर, उनको पार्टीले केही दिन अघि मात्रै सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको र आज उनले बाबुरामलाई राजीनामा थमाएका हुन् ।
प्रकाशित मिति:
September 18, 2012