बलात्कारीलाई लुकाउने प्रधानध्यापक पनि प्रहरी खोरमा
भदौ १९ – विद्यालयमा नै बालिकामाथि बलात्कार भएको घटना थाहा पाएर पनि कानुनी कारबाहीका लागि प्रक्रिया अघि नबढाउने यहाँका दुई शिक्षकसहित तीनजना १४ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।
गत असार २३ गते नै ती बालिका बलात्कारमा परेको र त्यसबारे प्रधानाध्यापकसम्म जानकारी पुगेको भए पनि कारबाही प्रक्रिया अघि नबढाएको पाइएकाले उनीहरूमाथि सार्वजनिक मुद्दाअन्तर्गत छानबिन भइरहेको प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिए ।
प्रनाउ खड्काका अनुसार बालिकाले बलात्कारमा परेपछि पहिलोपटक त्यही विद्यालयमा काम गर्ने छिरिङ ल्हामुलाई भनेकी र उनीमार्फत प्रधानाध्यापकसम्म कुरा पुगेको भए पनि विद्यालयमै मिलाउने प्रयास भएको पाइएकोले छिरिङ ल्हामुलाई समेत पक्राउ गरिएको छ । बालिकाका बाबुले उजुरी गरेपछि प्रहरीले उनीहरूलाई गत साउन ६ गते पक्रेको हो ।
गार्मा–१ च्याल्सास्थित शरणार्थी शिविरमा सञ्चालित सो विद्यालयमा बसेर पढ्ने टाक्सिन्दुकी नौ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । विद्यालयकै होस्टेलमा रातको समयमा सोही विद्यालयमा कार्यरत कर्मचारी दोर्जी वाङ्देलले बलात्कार गरेको बालिकाले बताएकी छिन् । वाङ्देल भने हाल फरार रहेको बताइएको छ । चिकित्सक प्रतिवेदनमा समेत बालिका बलात्कृत भएकी उल्लेख छ ।
प्रकाशित मिति:
September 04, 2012