काठमाडौँ १६ जेठ । पर्यटन प्रबद्र्धन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यही जेठ १८ गते शनिबार पेसागत पहलमानी मनोरञ्जन च्याम्पियन सङ्घको आयोजनामा ‘अन्तराष्ट्रिय रेस्लिङ महाभिडन्त २०७०’ हुने भएको छ ।
पेसागत पहलमानी मनोरञ्जन च्याम्पियन सङ्घका अध्यक्ष भरत बिसुराल (दी हिमालयन टाईगर)ले सो प्रतियोगिताको तयारी पूरा भइसकेको बिहीबार सञ्चारकर्मीलाई जानकारी दिए ।
दशरथ रङ्गशालामा दिउँसो १ बजेदेखि सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित अमेरिका र जापानी रेस्लरहरूबीच भिडन्त हुनेछ । ‘प्रतियोगितामा एक दर्जनभन्दा बढी रेस्लरहरूले सनसनीपूर्वक खेल प्रदर्शनी गर्ने छन्,’ बिसुरालले भने ।
तीन वर्षअघि काठमाडौँको भृकुटीमण्डपमा आयोजना भएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा दर्शकले साँच्चिकै भिडन्त भएको ठानेर इँट्टा प्रहार गर्दै भागदौड मच्चिँदा प्रहरीले लाठी चार्जसमेत गर्नुपरेको स्मरण गर्दै नेपालका अन्तर्राष्ट्रिय रेस्लर बिसुरालले दर्शकलाई सम्यम रहन आग्रह गरे ।
अमेरिका र जापानबाट अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी भोलि नेपाल आइपुग्ने पनि श्री बिसुरालले बताए ।
नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङको घम्साघम्सी प्रत्यक्षरूपमा अवलोकन गराउन प्रतियोगिता सफल हुनेमा च्याम्पियन सङ्घ विश्वस्त रहेको छ ।
Powered by Blogger.
अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त २०७०’ शनिबार
प्रकाशित मिति:
May 30, 2013