आजदेखि तेस्रो राष्ट्रिय क्लब टीम बुद्धिचाल
असार ७ । मनमोहन स्मृति चेस प्रतिष्ठानको आयोजना तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आजदेखि १२ गतेसम्म मनमोहन स्मृति तेस्रो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
यस प्रतियोगिताको विजेता टिमले एसियाली क्लब टीम च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक रघुनाथ महर्जनले जानकारी दिए ।
कूल रु एक लाख ३० हजार नगद पुरस्कार रहेको सो प्रतियोगिताको विजेता टीमले रु ५० हजार, उप–विजेताले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
लिग–कम–नकआउटका आधारमा सञ्चालन हुने सो प्रतियोगिता स्वीस लिग प्रणालीअन्तर्गत सात चरणको हुनेछ । साझा पार्टी प्यालेस, लगनखेलमा सञ्चालन हुने सो प्रतियोगिताका उत्कृष्ट चारवटा टिमबीच नकआउट खेल हुनेछ ।
प्रतियोगितामा आयोजक टिम, थ्री स्टार क्लब, लुभु चेस क्लब, गजुरमुखी क्लब (इलाम), बत्तीसपुतली क्लब, ललितपुर जिल्ला बुद्धिचाल सङ्घ, भक्तपुर जिल्ला बुद्धिचाल सङ्घ, मखन चेस क्लब र मच्छिन्द्र क्लबको सहभागिता रहनेछ ।
त्यसैगरी सहभागी हुने अन्य क्लबहरूमा काठमाडौँ चेस क्लब, बुकास डट कम, गोल्डेनगेट क्लब, सुदेशा हाइस्कुल, ख्वप्रिङ चेस क्लब, चेस क्याफे बचत कोष भक्तपुर, मध्यपुर चेस क्लब, चोभार स्पोर्टस् क्लब, कास्की जिल्ला बुद्धिचाल सङ्घ रहेका छन् ।
विश्व बुद्धिचाल महासङ्घ (फिडे)को स्वीकृतिमा रेटिङसहित सञ्चालन हुने प्रतियोगिता सञ्चालन गर्न रु चार लाख ५० हजार बजेट लाग्ने सङ्घले जनाएको छ ।
प्रकाशित मिति:
June 21, 2013