'युवाहरु एक पटक फेरी मर्न तयार हुनुपर्छ'
जेठ २४ । विभिन्न राजीतिक दलहरुसँग आवद्ध युवा नेताहरुले वर्तमान राजनीतिक संकटको निकास चुनाव नभएर युवाहरुको नेतृत्वमा हुने आन्दोलनले मात्र दिने बताएका छन् ।
राजधानीको संवाद डबलीमा नेपाल युवा कम्युनिष्ट संघले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र युवाहरुको दायित्व’ विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै ती नेताहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा युवा नेताहरुले विदेशीको योजनामा निर्दलिय सरकारले गर्ने चुनावले निकास नदिने भन्दै आफूहरुले ध्वस्त पार्न सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताएका छन् ।

नेकपा–माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकका अध्यक्ष उदय चलाउनेले वर्तमान राजनीतिक संकटको निकास सहज ढंगले नहुने बताउदै युवाहरुले सशक्त आन्दोलनको लागि तयार हुनपर्ने बताए । वर्तमान निर्दलिय सरकारको विघटन र दलिय नेतृत्वमा सरकार नै अहिलेको आन्दोलनको मुख्य एजेण्डा भएको चलाउने बताए ।
सो कार्यक्रममा नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा युवा विभाग इन्चार्ज चिरण पुनले चैत्र १ गतेको कदम गणतन्त्रभित्रको कु हो भन्दै त्यसलाई सच्चाउन युवाहरुको नेतृत्वमा आन्दोलन गर्नुपर्ने बताए । चार नेताका कारण देश गम्भीर राजनीतिक संटकमा फसेको छ, त्यसको निकासको लागि सबै युवाहरुले साझा एजेण्डा बनाएर आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए । पुनले यही सरकारको नेतृत्वमा आफूहरु चुनावमा नजाने पनि ठोकुवा गरे ।
मातृका यादव नेतृत्वको नेकपा (माओवादी) निकट युवा संगठन युवा जनसुरक्षा संघका अध्यक्ष सुजनले अहिलेसम्म युवाहरुको भूमिका नेताहरुलाई कुर्सीमा पुर्याउनेमा नै सिमित भएकाले देशमा राजीतिक संकट थपिएको बताए । अहिले राजनीतिक संकटको निकास भनेको संघर्ष हो भन्दै सुजनले त्यसको लागि युवाहरु अर्को जनयुद्धको चरणसम्म जान तयार हुनुपर्ने बताए । राजतीतिक निकासको जिम्मा युवाहरुको काँधमा आएको भन्दै सुजन युवाहरुले टाउकोमा फेरी कफन बाध्न तयार हुनुपर्ने बताए । उनले जनयुद्धमा युवाहरुले बगाएको रगत र पसिनाले प्रचण्डलाई महलमा मात्र पुर्याउने काम भएको भन्दै अब त्यसबाट सजग हुनैपर्ने बताए ।
त्यसैगरी अखिल नेपाल युवक संघका अध्यक्ष लक्ष्मणदेव पाण्डेले नेताहरुले गद्धारी गरेकाले देश निर्दलियतिर गएको भन्दै त्यसलाई सच्चाएर दलिय व्यवस्थामा ल्याउने जिम्मा युवाहरुलाई आएको बताउदै त्यसको लागि युवाहरु एक पटक फेरी मर्न तयार हुनुपर्ने बताए ।
सोही कार्यक्रममा प्रगतिशील युवा संघका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ठूला नेताहरुले देशलाई बर्बाद बनाएको भन्दै सबै युवाहरु मिलेर देशलाई बचाउनुपर्ने बताए ।
शाहीले सरकारको नेतृत्व प्रतिगामीहरुले गरेकाले अहिले निकास चुनाव नभएर आन्दोलन भएको बताए । उनले यो सरकारले गर्ने चुनावमा देशलाई निकास नदिने भएकाले सम्पूर्ण युवाहरु मिलेर चुनावको नाटकलाई ध्वस्त पार्नुपर्ने बताए । क्रान्तिकारी युवा संघका अध्यक्ष माथव थापाले युवाहरुले कहिले धोका नदिएको तर नेताहरुले युवाहरुलाई सधै धाको दिएको भन्दै युवाहरु सर्तक हुनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाल युवा कम्युनिष्ट संघ एकीकृतका संयोजक गुञ्जमान घर्तिमगरले अहिलेको राजीतिक निकास नाटकको रुपमा गर्न लागिएको कथित संविधानसभाको चुनावले नगर्ने बताउदै त्यसमा आफूहरु सहभागी पनि नहुने र जवरजस्त गर्न खोजिए असफल बनाइदिने चेतावनी दिए ।
प्रकाशित मिति:
June 07, 2013