के साँच्चै मिल्लान त दुई माओवादी ?
जेठ २६ । सँगै जनयुद्ध लडेका तर शान्ति प्रक्रियामा आएपछि दुई चिरामा औपचारिक रुपमै विभाजित भएका दुई माओवादीबीच पछिल्लो पटक पार्टी एकीकरणको हल्लाले बजार पिट्न थालेको छ ।
कम्युनिष्टहरु टुक्रिनु र जोडिनुको खासै महत्व नहुने भएपनि संविधानसभाको मुखमा आएर शिर्ष स्थानमै मानिएका यी ठूला दुई पार्टी एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बिचको एकीकरणको हल्लाले भने राष्ट्रिय राजनीतिमा नै उथलपुथल ल्याउनेसम्मको अवस्था हुन सक्ने भएकाले यसलाई देशी विदेशी शक्ति तथा पक्ष विपक्षी दलहरुले समेत निक्कै महत्वका साथ लिने गरेका छन् ।
संविधानसभाको निर्वाचन हुने हो र यी दुई पार्टी एक भएर अघि बढ्ने हो भने कांग्रेस एमालेलाई निक्कै ठूलो असर पर्ने निश्चित छ तर निर्वाचन भएको अवस्थामा पनि मोहन वैद्य नेतृत्वको माओवादीले भाग मात्रै लिएमा भने फेरि प्रचण्ड नेतृत्वको एमाओवादीलाई ठूलो धक्का लाग्ने छ । फेरि नेकपा माओवादीले चुनावमा भाग नै नलिने हो भने निर्वाचन हुनै नसक्ने सम्मको सम्भावना उत्तिनै छ त्यस कारण पनि यी दुई शक्तिको क्रियाकलापलाई अहिले धेरैले नियालिरहेका छन् ।
यसरी चल्यो एकीकरणको हल्ला
२०५२ फागुनमा मरे सँगै मरौँला भनेर सँगै बन्दुक बोकेका यी दुई पार्टी आज भन्दा करिब १ वर्ष अघि अलग भएका थिए । जतिबेला अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई नव संशोधनवादमा फसेको भन्दै राजधानीको बौद्धस्थित शेर्पा सेवा सदनको भेलाबाट क्रान्तिकारी शक्तिहरुलाई समेटेर नयाँ पार्टी गठन गर्ने निर्णयसँगै पार्टी अलग हुन पुगेको थियो ।
तर पार्टी अलग भएको वर्ष दिन बित्न नपाउँदै पुनः एकीकरणको तयारी अन्तिम चरणमा भनेर हल्ला फिजिएको छ । आजको राजधानी दैनिकले दुई पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको भनेर समाचार छापेको छ भने कान्तिपुर दैनिकले पनि दुई माओवादीबीच एकीकरणबारे छलफल भएको भनेर समाचार दिएको छ । कान्तिपुरको उक्त समाचारमा नेकपा माओवादीका सचिव नेक्र विक्रम चन्दको भनाई उदृत गर्दै आफ्नो पार्टीको सातौं महाधिबेशनको लाइनको सेरोफेरोमा सहमति भए एकीकरण गर्न तयार रहेको उल्लेख छ । तर नेकपा माओवादीकै नेता तथा कार्यकर्ताहरु भने पार्टी एकीकरणको कुरा पुरै योजनावद्ध रुपमा चलाएको हल्ला मात्रै ठान्छन् ।
नेकपा माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहालले पार्टी एकीकरण हुनै नसक्ने बताए । तर, नेकपा माओदीको नेतृत्व मान्ने हो भने र आफ्नो पार्टीको कार्यदिशा मान्ने हो भने पार्टी एकीकरण हुनै नसक्ने भन्ने नभएको उनको भनाई छ । तर, पहिले जस्तै आश्वासन दिएको भरमा भने पार्टी एकीकरण कुनै हालतमा नहुने उनले बताए ।
दाहालले प्रचण्डले पटक पटक धोका दिएकाले आश्वासनकै भरमा पार्टी एकीकरण नहुने तर नेतृत्व र कार्यदिशालाई मान्ने हो भने एकीकरण हुने जनाए ।
त्यस्तै, नेकपा माओवादी निकट पत्रकार प्रभात चलाउने मिडियामा आएको कुरा हल्ला मात्रै भएको बताउँछन् । तर उनले पनि नेतृत्व र कार्यदिशालाई मान्ने हो भने पार्टी एक हुने सम्भावना रहेको बताउँछन् । हाम्रो नेतृत्व र हाम्रो कार्यदिशा मान्ने हो भने एमालेसँग पनि पार्टी एकीकरण हुन सक्ने उनको भनाई छ ।
पार्टी एकीकरणकै पक्षमा नेतृत्व
मिडियामा आएका कुरा हल्ला या प्रचार जे भनिए पनि दुई पार्टीका नेतृत्व तहमा भने पार्टी एकीकरण गरेर जानुपर्छ भन्ने नै रहेको बुझ्न सकिन्छ । तर कार्यकर्तामा भने त्यस्तो नभएकाले एकीकरणको सम्भावना न्यून छ । जनआस्था साप्ताहिकका पत्रकार यादव देवकोटा नेकपा माओवादीले पनि पार्टी फुटको औचित्य सावित गर्न नसकेको र एमाओवादी पनि झन् झन् समस्यामा फस्दै गएको अवस्थामा एक भएर जाँदा राम्रो हुने निष्कर्षका साथ दुवै पार्टीका नेताहरु छलफलमा जुटेको बताउँछन् । उनले तत्कालनै दुई पार्टी बिचको एकीकरण सम्भव नदेखिए पनि संविधानसभाको चुनाव घोषणा भएको अवस्थामा भने बाध्यतावस होस् या अन्य कुनै कारणबस् नै भएपनि यी दुई पार्टीबीच पार्टी एकीकरणको सम्भावना रहेको जनाउँछन् । नेतृत्व तह आजै अहिले नै मिलेर जानुपर्छ भन्नेमा रहे पनि कार्यकर्ता पंक्तिमा त्यस्तो नभएकाले र त्यसलाई मिलाउन पनि गाह्रो रहेकाले तत्काल एकीकरणको सम्भावना नरहेको उनको भनाई छ ।
भर बिनाको राजनीति
हिजो सँगै लडेका तिनै नेताहरु पार्टी अलगाएर एकले अर्कालाई तथानाम गाली गर्दै हिडे । फेरि आज आएर एक नहोलान् भन्न सकिदैन । यसमा प्रचण्डहरु जसरी नि मिलेरै जानुपर्छ भन्नेमा छन् भने वैद्यहरु प्रचण्ड झुकेर आउनुपर्छ भन्ने पक्षमा रहेको बुझ्न सकिन्छ । यी कुराहरु हेर्दा र मिडियामा आएका समाचारहरु देख्दा नेतत्व तहमा कुरा मिल्न लागेको समेत बुझ्न सकिन्छ ।
विप्लवले आजको कान्तिपुर दैनिकमा एमाओवादीका नेताहरु पनि पुरानो संसदीय अवस्थाबाट मुलुकको आर्थिक, सामाजिक रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेकाले एकीकरणको सम्भावना बढेको भन्ने अभिव्यक्ति दिनुले पनि यसलाई थप पुष्टि गर्दछ । तर, विप्लव बाहेक नेकपा माओवादीका अन्य नेताहरु भने खुलेरै एकीकरणको पक्षमा नरहेको बुझ्न सकिन्छ । त्यस्तै कार्यकर्ता भने अझै यसको विपक्षमा छन् । यसमा प्रचण्ड पक्षका कार्यकर्तालाई खासै समस्या नभए पनि वैद्य पक्षका कार्यकर्तालाई भने बढी समस्या आउने छ तथापी कुनै बेला पार्टी एक भयो भनेर नेतृत्वले घोषणा नगर्लान भनेर भने भन्न सकिदैन ।
प्रकाशित मिति:
June 09, 2013