चुनाव सार्न प्रमुख दल तयार
साउन ३१ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको मोर्चाले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाए चुनावको मिति तलमाथि गर्न उच्चस्तरीय राजनीतिक समिति तयार भएको छ ।
समिति र मोर्चाबीचको बुधबार बैठकमा प्रमुख चार दलका नेताले चुनावको मितिमा आपत्ति भए केही दिन यताउता गर्न सकिने जनाएका हुन् ।
वैद्य नेतृत्वको मोर्चाले चुनावको मिति सार्ने विषयलाई अडानका रूपमा प्रस्तुत गरेपछि समितिका संयोजक तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले तपाईहरूको चुनावी मितिमा मात्रै आपत्ति हो भने त्यसलाई यताउति गर्न सकिने बताए, जसप्रति समितिमा रहेका अन्य सदस्यले पनि समर्थन गरेका थिए ।
तपाईंहरूले जसरी सरकार गठन र चुनाव घोषणालगायतका सबै प्रक्रियाप्रति विमति राख्दै आउनुभएको छ, त्यो नै तपाईंहरूको पोजिसन हो भने सहमति गर्न सकिँदैन, दाहाललाई उद्धृत गर्दै एमाले नेता रघुजी पन्तले भने, तर, तपाईंहरूले चुनावी प्रक्रियामा आउने प्रतिबद्धता व्यक्त गर्दै त्यसको ग्यारेन्टी गरेको अवस्थामा मिति परिवर्तन गर्नचाहिँ सकिन्छ।वैद्य नेतृत्वको माओवादीले चुनावी मितिलाई प्रतिष्ठाको विषय बनाएका कारण दाहालले यस्तो प्रस्ताव गरेका हुन् । नागरीक दैनिकमा खबर छ ।
नेकपा–माओवादी नेता देव गुरुङले पनि चुनावी मिति परिवर्तन गर्न उच्चस्तरीय समिति सकारात्मक भएको बताए। हामीले निर्वाचनको मिति सारौं भन्ने प्रस्ताव राखेका थियौं।
उच्चस्तरीय समितिका नेताले निर्वाचनमा आउने हो भने मितिको कुरा ठूलो होइन भन्नुभएको छ संविधानसभाबाटै संविधान बनाउने आधारभूत विषयमा समिति र मोर्चाबीच सहमति भएको बताउँदै गुरुङले भने, तर, त्यसका लागि हामीले सके मुद्दा र विषयवस्तुमा पनि सहमति गरेर जाऔं नभए प्रक्रिया र विधिमा सहमति गरेर जाऔं भन्ने प्रस्तावमा उहाँहरूले छलफल गरौंला भन्नुभएको छ।
तर, मोर्चाले राखेको १८ वटै मागलाई भने सम्बोधन गर्न नसकिने जानकारी दिएको पनि वैद्यले बताए।
निर्वाचनमा आउने ग्यारेन्टी गर्नुहुन्छ भने अझै छलफल गरेर सहमति खोज्न तयार छौं,गच्छदारको भनाइ थियो। त्यसमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले पनि सहमति जनाएपछि वार्ता प्रक्रिया अघि बढेको थियो।
प्रकाशित मिति:
August 15, 2013